६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नागरिकता नहुँदा स्वास्थ्य स्वयंसेविका दुःखी

माडी नगरपालिकाको कुसुमखोलामा रहेको घरमा रुनुमाया। तस्बिर : सविता/नागरिक

चितवन – उनी मानव स्वास्थ्यबारे सचेतना फैलाउँछिन्। पेसाले स्वास्थ्य स्वयंसेविका। उनको घरको बाहिरी भित्तामा राखिएको छ, उनको परिचय दिने सानो बोर्ड। त्यसमा लेखिएको छ, ‘महिला स्वास्थ्य स्वयंसेविका, नाम : रुनुमाया भुजेल, जिल्ला : चितवन, अयोध्यापुरी गाविस वडा नम्बर ९ कुसुमखोला।’ उनी बस्ने कुसुमखोला अहिले माडी नगरपालिकामा पर्छ।

४३ वर्षीया रुनुमाया माडी आएर बस्न थालेको १९ वर्ष पुगिसक्यो। नेपाल आएको २४ वर्ष। ०५१ सालमा बिहे गरेपछि माघ महिनामा उनी नेपाल आएकी थिइन्। आसामको गुहाटीमा पशुपालनको फार्म खोलेर बसेका कृष्णबहादुर भुजेलसँग उनले बिहे गरिन्। माइतीको मञ्जुरीबिना बिहे गरेकी उनी आसाम छाडेर पतिसँगै नेपाल आइन्। आफूलाई मन परेर बिहे गरेकी उनी परिवारसँग डराइन्। बिहे गरेर आएपछि उनी माइती पनि गएकी छैनन्।

तनहुँको पहाडी थलो जालभन्ज्याङ बस्ने उनको परिवार गाउँलेसँगै माडीमा बसाइँ आएको हो। रुनुमायाको नागरिकता बनेको छैन। उनका ५० वर्षीय पति कृष्णबहादुर भुजेलको पनि नागरिकता छैन। नागरिकता बनाउने उमेर भइसकेका छोरी र छोराको पनि नागरिकता बन्न सकेको छैन। गाउँबाट आधा घन्टा परको आधारभूत विद्यालय गएर रुनुमायाका तीन छोराछोरीले तीन कक्षासम्म अध्ययन गरे। २३ वर्षकी छोरी मनुको बिहे भइसक्यो भने १९ वर्षीय अशोक र १५ वर्षीय अमृत उनीसँगै छन्।

परिवारको जीविकोपार्जनका लागि अधियाँमा साहुको खेत कमाउन थालेका छन्। अधियाँ खेती गर्न थालेकाले श्रीमान् माडीको देवेन्द्रपुरमा बस्न थालेको उनले बताइन्। सानो हुँदा बुबाआमा बितेपछि कृष्णबहादुर कामको खोजीमा भारत पुगेका थिए। जन्मदर्तासमेत नभएकाले पतिको नागरिकता नबनेको उनी बताउँछिन्। ‘प्रमाण भनेको आफ्नो मान्छे पनि छैन, कागज पनि छैन,’ उनले भनिन्, ‘पतिको नागरिकता बनाउन म पोहोर तनहुँ गएकी थिएँ, तर केही मिलाउन नसकेर फर्किएँ।’ घरिघरि धाएर जान पैसा पनि नहुने भएकाले नगएको उनले बताइन्।

माडीको कुसुमखोला बस्न आएपछि मात्र उनले राम्रोसँग नेपाली बोल्न सिकिन्। सात दिन पौढशिक्षाको कक्षा लिएपछि नेपाली बोल्न जानेको उनले बताइन्। ०७१ सालदेखि स्वास्थ्य स्वयंसेविका छिन्। वर्षको ३ हजार ७ रुपैयाँ पाउँछिन्। हिलेकाहीं हुने स्वयं सेविकाको बैठकमा सहभागी भए ३ सय रुपैयाँ भत्ता पाउने गरेको उनले बताइन्। उनी गाउँमा गर्भवती, बच्चा, सुत्केरीको हेरचाह गर्ने तरिका बताउँछिन्। स्वास्थ्य संस्थाबाट उनलाई दिएका औषधि र जीवनजल आवश्यकता परेको घरमा वितरण गर्छिन्।

स्वयंसेविका बन्ने बेलामा भने उनको नागरिकताको खोजी भएन। गएको वर्ष फोन चलाउन सिम लिन खोज्दा भने उनको नागरिकता मागियो। गाउँकै छिमेकी महिलाको नागरिकता बुझाएर उनले सिम झिकिन्। नगरपालिका भइसकेपछि स्वयंसेविकाको काम गर्नका लागि उनले नागरिकता पेस गर्न सकेकी छैनन्। ‘नागरिकता नहुँदा गाह्रै छ। जता पनि नागरिकता नै खोज्छन्, संस्थाबाट केही सुविधा आए पनि नागरिकता नभई केही हुँदैन,’ उनले भनिन्, ‘अब के गर्ने श्रीमान्को पनि नागरिकता छैन।’

प्रकाशित: २५ पुस २०७५ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App