चितवन – पर्यटकीय नगरी सौराहाका होटलहरुमा शौकिनहरु राती क्याम्प फायरको रापमा मनोरञ्जनमा उन्मुक्त छन्। मनोरञ्जनको यो क्याम्प फायर जस्तै नजिकै डाँडामा रहेका चेपाङ बस्तीमा पनि आगो बलेकै छ। तर त्यो क्याम्प फायर होइन्, विपन्नताको नियति माथि प्रहार गर्ने सिरेटो र रातभर सुत्नै नदिने शीत पन्छाउन भरथेग गर्ने भुंग्राे।
जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ । त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न छन्। उनीहरुले ओढ्न र लगाउनका लागि पर्याप्त लत्ताकपडा नहुँदा आगोको भरमा रात काट्नु परेको छ।
इच्छाकामना गाउँपालिका–१ हात्तीवाङका बुद्धिबहादुर चेपाङ रातमा आगो निभेपछि ब्युँझिने गरेको बताउनुहुन्छ । आठ सन्तानका बाबु बुद्धिबहादुरले भन्छन्, ‘आगो बलुन्जेल निन्द्रा लाग्छ, निभेपछि ब्युँझिन्छौँ।’ चिसोले बालबच्चाको शरीर सुन्निएको र ज्यान काप्ने गरेको उनी बताउँछन्। कालिका नगरपालिकाको वाग्सुराङका रामचन्द्र चेपाङले आगो बाल्न दाउरासम्म पाउन मुस्किल भएकाले बालबालिका जोगाउन कठिन भएको बताए। लगाउने कपडा नहुँदा जाडो मौसममा सधैँ आगो ताप्नु पर्दा काम गर्न पनि नसकिएको उनले पीडा सुनाए।
सिराइचुरीका भीमबहादुर चेपाङ आफ्ना दुई सन्तान जोगाउन मुस्किल परेको बताउछन्। लाउने, ओढ्ने कपडा र खाने अन्न पर्याप्त नहुँदा समस्या परेको उनको गुनासो छ । राजबुकका भक्तबहादुर चेपाङले भन्छन्, ‘आगो तापिरहन्छौँ, जतिबेला निन्द्रा लाग्छ त्यही सुत्छौँ, आगो निभेपछि ब्युँझन्छौँ।’ रातमा उठेर फेरि आगो फुक्ने र केटाकेटी तताउने गरेको उनले पीडा सुनाए।
गाउँमा यतिबेला अलिअलि मकै, कोदो, सुन्तला र सागपात मात्रै छ । बस्तीका चेपाङहरु पैसा भए शहरबाट चामल किनेर ल्याउने गर्दछन् । चेपाङ बाहुल्यता भएको इच्छाकामनाका अध्यक्ष गीता गुरुङ सबैको उस्तै समस्या रहेको बताउछिन्। गाउँपालिकामा २५ हजार जनसंख्या रहेकामा नौ हजारभन्दा बढी चेपाङ जाति छन्। साह्रै नै गाह्रो भएकालाई बाँड्नका लागि स्थानीय प्रशासनले १५० थान कम्मल पठाएको उनले बताइन्। रासस
प्रकाशित: २१ पुस २०७५ ०७:२२ शनिबार