२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रादेशिक बिदा प्रशासनले मानेनन्

पोखरा - गुरुङ जातीहरुको पर्व तमु ल्होसारमा प्रदेश सरकारले बिदा दियो। कर्मचारी कोही बिदा मानेर कार्यालय गएनन्, कोही घरतर्फ लागे, कोही बिदा मनाउन। तर, संघमातहतका कार्यालय भने बिदाको दिन आईतबार पनि नियमित रुपमा खुला थिए।

गण्डकी प्रदेश सरकारले दिएको बिदाको उनीहरुले वास्ता गरेनन्। प्रदेशको बिदालाई सरकारी कार्यालय, वित्तीय संस्थाहरुले कार्यान्वयन गरेनन्। संघ सरकारको मातहतमा रहेका कार्यालयहरु खुले। प्रादेशिक संरचना र प्रदेश मातहतका मन्त्रालय तथा मन्त्रालय मातहतका कार्यालय मात्र बन्द भए। ‘प्रदेशको बिदा मान भनेर संघ सरकारले भनेको छैन्,’ कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले भने, ‘हामी संघ मातहतका कर्मचारी हौँ, नेपाल सरकारले तोकेको बिदा मात्रै मान्छौँ।’

संघीय सरकार मातहत रहेको भन्दै बिदा नमानेका ती कार्यालयमा सेवाग्राहीको भने उपस्थिती थिएन। ‘संघ सरकारले नै निर्णय गरेर कानुनमा आएपछि बिदा कार्यान्वयन गर्न सकिन्छ, यो विषयमा संघ र प्रदेशबिचमा समन्वय पनि हुनुपर्ने हो, प्रदेशले मात्र बिदा दिँदैमा हामी कार्यान्वयन गर्न सक्दैनौँ’ उनले भने।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले यी कार्यालयहरु हालसम्म पनि संघ सरकार मातहत नै रहेको र संघ सरकारले बिदा दिने निर्णय नगरेको हुँदा प्रदेश सरकारको बिदा पूर्णरुपमा कार्यान्वयन नभएको बताए।

अर्कोपटकदेखि भने बिदा कार्यान्वयन पूर्णरुपमा सफल हुने उनको भनाई छ। बिदा सफल तर कसरी भन्ने प्रश्नमा उनले भने, ‘मंसिर तेश्रो साता भएको अन्तर प्रदेश परिषदमा प्रदेशले ६ दिनसम्म बिदा दिन सक्ने भन्ने विषयमा छलफल भएको रहेछ, सोही प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा लगेको छ, उक्त प्रस्ताव पारित भएपछि यो समस्या आउँदैन्।’

प्रदेशले बिदा दिएतापनि संघीय सरकार मातहतका कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, निर्वाचन, कारागार, नेपाल राष्ट्र बैंक, निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरु भने खुलेका थिए। गण्डकी प्रदेशमा जनैपुर्णिमा, तीज, ल्हाेसार लगाएतमा विदाको माग गरेपनि प्रदेश सरकारले दिएको थिएन। गुरुङ जाती विशेषको पर्व भएतापनि गण्डकी प्रदेशमा जनसंख्यागत आधारमा गुरुङहरु चौथो स्थानमा रहेका छन्।

प्रकाशित: १५ पुस २०७५ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App