२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

हुलाकी मार्गको आसमा थलिँदै पूर्वका पुराना बजार

झापाको गौरीगन्जको खजुरगाछी बजार। विगतमा धेरै उद्योग रहेको यो ठाउँ अहिले शुनसान छ। तस्बिरः युवराज/नागरिक

दमक - नयाँ बजार बढेसँगै पुराना बजारहरु थला पर्न थालेका छन्। बढ्दो बसाइँसराइ, यातायातको सुगमताले सीमावर्ती बजार सुक्न थालेका हुन्। पूर्व–पश्चिम राजमार्ग बनेपछि सीमावर्ती क्षेत्रका बजार ओझेलमा परेका हुन्। गौरीगन्जका पुराना बासिन्दा धर्मनारायण दासका अनुसार राजमार्ग त्यसबेलाबनेका थिएनन्।

‘भारतीय सीमा भएका कारण सीमावर्ती बजार चलेका थिए, अरु त बजारै थिएनन्,’ उनले सुनाए। त्यतिबेला उनी पहाडदेखि सामान खरिद गर्न आउने गर्थे। तर अहिले उनैलाई ती चिज इतिहास लागेको छ। ‘देख्दादेख्दै बजार सकिँदै गयो, बस्ती पातलिदै गए,’ दास भन्छन, ‘अहिले त सबै चिज राजमार्ग नै केन्द्रित भयो, ‘अब हुलाकी बाटो बन्ला र समृृद्धि आउला भनेर पर्खेका छौं।’

झापाको गौरीगन्ज गाउँपालिकाको पूर्वी गाउँ महाभराबाट कृष्ण पौडेल ठूलो कष्ट बेहोरेर बजारसम्म आइपुग्छन्। गौरीगन्ज–१ का उनलाई सबैभन्दा ठूलो सकस भनेको हुलाकी मार्गमा पर्ने कृष्णे पुल तर्नु नै हो। ‘पुल त नमुना मात्रै छ, त्यो नि बाँसको। कहिले भत्कन्छ, टुगो छैन,’ उनले भने। गौरीगन्ज बजार सरकारले हुलाकी मार्गमा घोषणा गरेको नमुना सहरमध्ये एक हो। प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने यो गाउँमा नमुना सहर बनाउन दुई करोड रुपैयाँ आएको पनि छ। तर काम भने अघि बढेको छैन।

पूर्व–पश्चिम राजमार्ग नबनुन्जेल गौरीगन्ज झापा र मोरङकै लागि ठूलो बजार थियो। जब राजमार्ग बन्यो गौरीगन्जको दिन त्यहीँबाट बिग्रदै गयो। इलामदेखि सप्तरीसम्मका मानिसहरु किनमेलका लागि गौरीगन्ज झर्थे। अरु बजारको नामनिसानै थिएन। तर राजमार्ग चुरे नजिकै बनेपछि सीमावर्ती बजार सुक्दै गयो। बजार अहिले हुलाकी मार्गकै आशमा पर्खेर बसेको छ।

त्यस्तै बाबुराजा श्रेष्ठ गौरीगन्जका पुराना व्यवसायी हुन्। गाउँपालिका अध्यक्षमा निर्वाचित श्रेष्ठ अब गौरीगन्जको आशा हुलाकी मार्ग भएको बताउछन्। ‘सधैं दमक बिराटनगरको भरिया मात्रै भयौ,’ उनले भने, ‘आर्थिक विकासका लागि यो मार्ग चाँडै निर्माण सम्पन्न हुन आवश्यक छ।’ गौरीगन्जमा भएका ठूला उद्योग बन्द भए। अहिले भएका चल्नका लागि समाथ्र्य राख्दैनन्। ‘इतिहास बनेको गौरीगन्ज अहिले सामान्य हाट बनेको छ,’श्रेष्ठले सुनाए, ‘हुलाकी मार्गमा बन्ने स्मार्ट सहरका लागि प्रस्तावित छ, अब आशा छ केही विकासले गति लिनसक्छ।’

उद्योगका लागि ठूलो सम्भावना बोकेको गौरीगन्जका ठूला भनिएका उद्योग बन्द भइसके। अहिले गौरीगन्जमा ठूलो मानिएको धिरज चामल उद्योग मात्रै सञ्चालनमा छ। दुगडको सानपाट बिक्री केन्द्र, लोकनाथ सन्स टी स्टेटको चिया उद्योग र  सिद्धी बिनायक चलचित्र मन्दिर बन्द छन्। ‘उद्योगका लागि प्रसस्त सम्भावना भएपनि लगानीका लागि उद्योगीले सुरक्षित मानेका छैनन्,’ स्थानीय मदन राजबंशी भन्छन, ‘ठूलो सम्भावना भएको सहर भएपनि इतिहासमा सीमित हुने पीरमा छ। गौरीगन्जमा धेरैजसो आदिवासी समुदायको बसोबास छ। तर राजमार्ग केन्द्रित विकास हुन थालेपछि विगतको बजार अहिले गाउँ बन्न पुग्यो भने त्यसबेलाका गाउँ धमाधम सहर बने। व्यवसवायी राजमार्गकेन्द्रित हुन थालेपछि राजमार्ग दक्षिणका बजार सुक्दै जान थालेका हुन्। झापा उद्योग वाणिज्य संघ, गौरीगञ्जका उपाध्यक्ष निरज अग्रवाल राजमार्गको दक्षिणी क्षेत्रमा सम्भावना भएपनि लगानीको वातावरण भने बन्न नसकेको बताउँछन्। ‘केही उद्योग स्थापना भए पनि लगानीको सुरक्षा, सरकारी सहयोग तथा पूर्वाधार नभएका कारण टिक्न सकेनन्,’ उनी भन्छन्, ‘भएका उद्योग टिकाउन पर्याप्त नीति आवश्यक हुन्छ।’

गौरीगन्जका पुराना बासिन्दा कमलेश्वर राजबंशी राज्यले विकासमा केन्द्रीकृत गरेको आरोप लगाउँछन्। उनी राज्यले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताउँछन्। ‘सीमावर्ती क्षेत्रलाई भोटको माध्यम बनाएर सिढी चढ्ने प्रवृति अन्त्य हुनुपर्छ,’ उनले भने, ‘दक्षिणी क्षेत्रको विकासका लागि सारिएका योजना पूरा गरिनुपर्छ।’ यस पटक चुनावी प्रतिबद्धता पूरा हुनेमा उनी विश्वस्त छन्। गौरीगन्जजस्तै इतिहास बोकेका सहर अहिले गुमनाम हुँदैछन्। पूर्वको ठूलो व्यापारिक केन्द्र थियो, घैलाडुब्बा। तर घैलाडुब्बा अहिले नगरपालिकाको एउटा सानो गाउँ बन्यो। अरु नयाँ सहरले पुराना बजारलाई ओझेल पार्दै गएका छन्।‘व्यापार पनि राजमार्गनजिकै मात्रै फष्टाएर गयो,’ झापाको इतिहासका जानकार गणेशप्रसाद पोखरेलले भने, ‘अहिले ती पुराना बजार चौतारा मात्रै भने राजनीतिक गफ गर्ने थलो भए।’

सबैभन्दा बढी पीडा त झापा बजारले भोगेको छ। पुरानो सदरमुकामका रुपमा परिचित झापा अहिले त सीमावर्ती गाउँ मात्रै बन्यो। ‘सडक, यातायातसहितका अन्य पूर्वाधारमा पनि पछि पर्‍यो,’ झापा गाउँपालिकाका शिक्षक जगन्नाथ राजबंशीले भने, ‘सबैभन्दा ठूलो क्षति त झापालाई भएको छ, यो त उठ्नै नसक्ने गरी सुकेर गयो।’ झापा गाउँपालिकाको  झापा बजारबाट २००७ सालदेखि सरकारी कार्यालय भद्रपुर सरेपछि यो स्थान सुनसान बनेको हो। ‘उद्योग उतै खुल्छन्, सडक उतै बन्छन्,’ राजबंशीले गुनासो गरे, ‘तर जनता गाउँमा पनि बस्छन् भन्ने अनुभूति प्रशासकमा छैन।’

प्रजातन्त्र स्थापनापछि नै झापालाई ठगिएको स्थानीयको गुनासो छ। यस क्षेत्रका कतिपय उद्योग पनि पञ्चायत कालमा बन्द भए। यस्तै झापाको सदरमुकाम नेपालकै सबैभन्दा पुराना नगरपालिकामध्ये पर्छ। भद्रपुर आवासीय, औद्योगिक तथा व्यावसायिक रुपमा पछि परेकै कारण नयाँ सहर यसको दाजोमा धेरै माथि छन्। भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ विगतमा नेतृत्वको दूरदर्शिता नभएका कारण पछि परेको उल्लेख गरे। ‘अब जनप्रतिनिधिमार्फत स्थानीय क्षेत्रको विकासका लागि क्रियाशील हुनेछौं,’ उनले भने, ‘समग्र भद्रपुरको विकासका लागि हुलाकी मार्ग अपरिहार्य छ।’

बजार अब सहर हुने र सुविधा सम्पन्न हुने आशमा छन्, स्थानीय। ‘हुलाकी मार्ग समयमा सम्पन्न भए यी गाउँलेको मुहार फेरिने थियो,’ झापा गाउँपालिकाका जग्गनाथ राजबंशीले भने, ‘तर तत्काल काम अघि बढ्ने छाँट छैन।’ भद्रपुरबाट गौरीगन्जदेखि मोरङसम्म पुग्ने हुलाकी राजमार्ग निर्माण भने सुस्त छ। सडकमा पर्ने खोलामा पुल निर्माण धमाधम हुँदैछन्। हुलाकी मार्ग सम्पन्न भए गौरीगन्जबाट विराटनगर ४६ किलोमिटरको दूरीमा सीमित हुनेछ। तर अहिले दमक हुँदै जाँदा ९५ किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता छ। ‘विकासमा समेत सम्भावना बोकेको स्थानलाई अहिले ओझेलमा पारिएको छ, यसले गौरीगन्जको विकास गर्ने थियो,’ स्थानीय मदन राजबंशीले भने, ‘तर निर्माणले गति लिने छ।’ गौरीगन्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले नीति निर्माण तहमा बस्नेलेपर्याप्त ध्यान नदिएका कारण बजार पछाडि परेको बताए। गौरीगन्जको महाभरादेखि खजुरगाछीसम्म १८ किलोमिटर हुलाकी मार्ग पर्छ।

प्रकाशित: १३ पुस २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App