८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खाँडागाउँकाे आगलागी नियन्त्रणमा, गाउँलेको खुला आकाशमा बास

तस्बिर : पवित्रकुमार/नागरिक

कालिकोट - जिल्लाको पलाँता गाँउपालिकाको खाँडा गाउँमा गएरातीदेखि लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्।

आइतवार राती लागेको आगोले गाउँ नै नष्ट बनाएको छ। आइतवार राती १० बजेदेखि लागेको आगो आज (साेमवार) दिउँसाे नियन्त्रणमा आएकाे प्रहरीले बताएको छ। पानीको निकै अभाव हुने खाँडामा आगो नियन्त्रणमा लिन निकै कठिन भएकाे थियाे। आगलागीका कारण स्थानीयका गोठमा बाँधिएका गाई, भैंसी र बाख्रा समेत मरेका छन् भने गाउँका ५ सय ४० जना स्थानीय खुला आकासमा बास बस्न बाध्य भएका छन्।

आगलागीमा झण्डै ३ करोड बढीको धनमाल क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ। पुरानै परम्परागत शैलीले बनाएका घरहरु सुख्खा खरले छाएका थिए। खाँडा गाउँमा खरको छाना भएका १७९ घर रहेका छन्। नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर सखाप बनाएकाे हाे।

प्रदेश सरकाबाट उद्धार र राहत सामाग्री संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए। स्थानीय र प्रहरीको सहयाेगमा आगो नियन्त्रणमा लिइएकाे प्रजिअ कार्कीले बताए।

आगलागीमा परी घाइते हुनेमा ७० वर्षीया चन्द्ररुपा संज्याल, ७० वर्षका देवराज हमाल, ३५ वर्षका विष्णुऋषि न्यौपाने, ५८ वर्षका कर्णप्रसाद न्यौपाने, १० वर्षका करिस्मा न्यौपाने र ९ वर्षका एक बालक रहेका छन्। प्रहरीले जनाए अनुसार चन्द्ररुपा संज्याल गम्भीर घाइते भएकी छन्। घाइतेको उपचारका लागि हेलिकप्टर मार्फत नेपालगंज लैजाने तयारी भएकाे छ।

राहत संकलन हुँदै
खाँडा गाउँ नै जलेपछि सहयोगी हातहरु जुट्न थालेका छन्। सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका अध्यक्ष डम्वरबहादुर शाहीले गाउँपालिकाबाट २ लाख नगद सहयोग गरेका छन्। पीडित परिवारको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष शाहीले राहत स्वरुप रकम सहयोग गरेको बताए। आगलागी पीडितहरूका लागि जिल्लामा व्यापक रुपमा राहत संकलन अभियान थालिएको छ। कालिकोट उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्स कालिकोटले जिल्ला सदरमुकाम मान्म बजारमा राहत संकलन अभियान थालेको हो।

गाउँपालिका उपाध्यक्ष नै विस्थापित
गाउँपालिका उपाध्यक्षकै घरमा समेत आगो लागेको छ। आगोले घर जलाउँदा आफु मात्र नभइ गाउँ नै पीडित बनेको पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन्। उपाध्यक्ष न्याैपानेले भनिन् ‘गाउँका ८७ वटै घरपरिवारका मानिसकाे एक जोर लगाएको कपडा बाहेक सबै जलेर नष्ट भएका छन्। खाने गास छैन्, लगाउने कपडाको सरो छैन।  अब कहाँ कसरी बस्ने भन्ने चिन्ताले पिराेलेको छ।’

कर्णाली प्रदेश सरकार राहत जुटाउँदै  
कर्णाली प्रदेश सरकाले आगलागी पीडितलाई राहत उपलब्ध गराएको छ। प्रदेश सरकारले आगलागी पीडितलाई तत्कालीन आवश्यकताको सामाग्री सहित नगद राहत उपलब्ध गराउने निर्णय गरेको हो। प्रदेश सरकारको मुख्यमन्त्री स्तरीय बैठक बसी राहत उपलब्ध गराउने निर्णय गरेको हो। मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट तत्कालिन राहतस्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिँहले बताए। मुख्यन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट घाइते भएकाको उपचारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्। मुख्यमन्त्री शाहीले उक्त क्षेत्रका आगलागी पीडितलाई थप राहत र पुनर्स्थापनाको सहयोगका लागि नेपाल सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थालाई आग्रह गरेका छन्। आवश्यक राहत सामाग्री हेलिकप्टरबाट लगिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए।

प्रकाशित: ९ पुस २०७५ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App