खोटाङ– खोटाङ उद्योग बाणिज्य संघले जीप दुर्घटनामा ज्यान गुमाएका व्यवसायीका परिवारलाई आर्थिक सहयोग गरेको छ। गत कात्तिक २१ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबाट दिक्तेल जाँदै गरेको ना १ ज ३६९८ नम्बरको जीप दुर्घटनामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४१ वर्षीय व्यवसायी दिपक रसाईलीको परिवारलाई बाणिज्य संघले ५१ हजार आर्थिक सहयोग गरेको हो।
संघका साधारण सदस्य रहेका रसाईलीको स्मृतिमा सोमबार दिक्तेलमा आयोजित श्रद्धाञ्जलीसभामा बाणिज्य संघले मृतककी श्रीमती सिता गदाललाई सहयोग रकम प्रदान गरेको जनाएको छ। जिल्ला कारागार नजिक आइपुगेको जीप पल्टिँदा उनको मृत्यु भएको थियो।
यस्तै, मृतक राईली परिवारलाई सक्रिया बचत तथा ऋण सहकारी संस्थाले पनि आर्थिक सहयोग गरेको छ। शेयर सदस्यका रुपमा सहकारीले राईलीकी श्रीमती सिता गदाललाई ७ हजार ५ सय सहयोग गरेको हो। रसाईलीको संगमपार्कस्थित पशलमा सहकारीका सल्लाहकार समितिका संयोजक खुसनारायण शैंजूले गदाललाई रकम हस्तान्तरण गरेका छन्। शेयर सदस्यको मृत्यु भए ७ हजार ५ सय वा शेयर सदस्य रहेका महिलाले बच्चा जन्माए ३ हजार दिने प्रावधान अनुशार १३ औं पुण्यतिथिको अवसर पारेर मृतक परिवारलाई सहयोग प्रदान गरिएको सहकारीका सचिव सुमन श्रेष्ठले बताए।
प्रकाशित: ३ मंसिर २०७५ १२:०८ सोमबार