६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अग्नी पीडित परिवारलाई राहत

खोटाङ – आगलागीबाट बिस्थापित बनेका खोटाङका दुई अग्नी पीडित परिवारलाई राहत प्रदान गरिएको छ। बिहीबार बिहान ३ बजे भएको आगलागीबाट बिस्थापित बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ र अम्बीका बुढाथोकीलाई नगरपालिका, जिल्ला दैबीप्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाईटी र उद्योग बाणिज्य संघले राहत प्रदान गरेको हो।

नगरपालिकाले अग्नी पीडित श्रेष्ठ र बुढाथोकीलाई जनही ५० हजारका दरले राहत रकम प्रदान गरेको छ। प्रशासनले प्रतिपरिवार १५ हजारका दरले तथा उद्योग बाणिज्य संघले प्रतिपरिवार १० हजारका दरले राहत प्रदान गरेको छ। यस्तै, नेपाल रेडक्रस सोसाईटीले कम्मल १० थान, पाल चार थान, भाडा चार सेट, थाल १२ वटा, कपडा ४० मिटर, सारी चार पिस, बाल्टीन चार थान र जग चार वटा प्रदान गरेको छ। बुढाथोकीको घरबाट सुरु भएको आगोले दुई घर पूर्ण र तीन घरमा आंशिक क्षती पुगेको थियो। आगो फैलिन नदिनका लागि डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा रबीध्वज राई, राजु श्रेष्ठ र पेले गुरुङको घरमा क्षती पुगेको छ।

दिक्तेलमा भीषण आगलागी भएको यो तेश्रो पटक हो। २०७२ साल पुस २ गते विद्युत सर्ट हुँदा लागेको आगोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका हिरालाल पुरी, केशव दाहाल, दानबहादुर मगर, रबिध्वज राई र हर्कबहादुर राईको घर नष्ट हुँदा पाँच करोड बराबरको क्षती भएको थियो। यस्तै, २०७३ साल असार २९ गते भएको आगलागीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल थर्पुटोलका लक्ष्मी पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको थियो। लक्ष्मीका छोराहरु बिनोद, लिला र ढुण्डीराज पाण्डे बस्दैआएको घरबाट सुरु भएको आगोबाट जोगाउनेक्रममा सँगै जोडिएका जीवन बस्नेत र टिकाराम बास्तोलाको घरको छाना, बरण्डा, झ्याल, ढोका भत्काइएको थियो।

यस्तै, आगोलागीबाट विस्थापित बनेका रावावेसी गाउँपालिका–१ कुभिण्डेका टिकाराम मगरलाई पनि राहत प्रदान गरिएको छ। तिहारको लक्ष्मी पूजा गर्ने क्रममा लागेको आगोले बिस्थापित परिवारलाई गाउँपालिकाले १० हजार नगद, ९० केजि चामल, पाल, खाने तेल लगायतका सामग्री प्रदान गरेको हो। वडा कार्यालयले पनि ३० केजि चामल, दाल, नुन, सावन वितरण गरेका छन्। रावावेसी गाउँपालिका–६ हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले पनि अग्नी पीडितलाई १ हजार ५०० प्रदान गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०७५ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App