१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोको जोखिममा स्थानीय

मात्तिममा पहिरोले बगाएर बीचमा अडिएको एक घर ।   तस्बिर : धनपाल राईको फेसबुक

खोटाङ – फाटेको जमिनले पहिरोको रुप लिएपछि खोटाङको मात्तिमका ३ घर उच्च जोखिममा परेका छन्। वर्षा सुरु भएपछि २०७४ सालमा सुरु भएको पहिरोले साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई, मेघबहादुर राई र जिपबहादुर राईको घर उच्च जोखिममा परेको हो।

वर्षा नभएको समयमा पनि निरन्तर सुक्खा पहिरो जान थालेपछि तीन परिवार जोखिम मोलेर घरैमा बसिरहेको साकेला गाउँपालिका–५ मात्तिमका वडा सदस्य धनपान राईले बताए। सुरुमा पिर्थीबोल र एलम राई बिस्थापित गराएको पहिरोले क्रमशः अन्य स्थानीयलाई बिस्थापित गराउन थालेको हो। घरभन्दा तलबाट सुरु भएको पहिरोले मेघबहादुर र जिपबहादुरको घर पहिरोको डिलमा अडिन पुगेको छ। पहिरोको डिलमा घर अडिएको भएपनि मेघबहादुर र जिपबहादुर परिवार सुरक्षित स्थानमा सर्न सकेका छैनन्।

शारीरिकरुपमा अस्वस्थ र राम्ररी आँखा नदेख्ने पिर्थीबोल बिस्थापित भएपनि केही दिन सुरक्षित स्थानमा बसेर पुनः लच्किएको घरमा फर्किएर बसिरहेका छन्। पहिरोले घर तानेपछि एलम गाईघाटमा बसाइ सरिसकेकी छन्। हाल एलमको घर पूर्णरुपमा पहिरोले लगिसकेको वडा सदस्य राईले बताए। पिर्थीबोल र एलम गत वर्ष नै बिस्थापित भएका थिए। धाँजा फाट्दै पहिरो जान थालेपछि मेघबहादुर र जिपबहादुरको घरभन्दा माथिका १५–२० घर समेत पहिरोको जोखिममा परेको छ। सुक्खा मौसममा पनि निरन्तर पहिरो जाने गरेकाले पहिरोको समस्याले बिराल रुप लिन लागेको हो। मेघबहादुर र जिपबहादुरको घर बगाएपछि स्थानीय राजकुमार राई, नारायणप्रसाद राई लगायतको घर जोखिममा पर्ने देखिएको छ।

पहिरोको जोखिमबाट बचाउनका लागि स्थानीयलाई सुरक्षितस्थानमा राख्नुपर्ने अवस्था देखिएको वडासदस्य राईले बताए। ‘पहिरोको जोखिममा परेका सर्वसाधारणको सहयोगका लागि सबै निकायमा निवेदन दिइसकेका छौँ, तर सहयोग मिल्न सकेको छैन,’ वडा सदस्य राईले भने, ‘उनीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको छ।’ पहिरो सुरु भएपछि गत वर्ष नै सहयोगका लागि विभिन्न निकायमा माग गरिएको भएपनि सम्बोधन नभएको पीडितको गुनासो छ। प्रहरीले घट्नास्थल मुचुल्का तयार पार्ने बाहेकका काम नभएको राईले बताए।

प्रकाशित: १२ आश्विन २०७५ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App