डडेल्धुरा– कञ्चपुरको भीमदत्त नगरपालिका–२ की बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिवार डडेल्धुरामा पनि विरोध प्रदर्शन गरिएको छ। ‘निर्मलाको हत्यारालाई कारवाही गर, नागरिक सुरक्षा कायम गर, कानुनी राज्य स्थापित गर, दण्ड हिनताको अन्त्य गर, मानव अधिकारको रक्षा गर’ भन्दै नागरिक सरोकार डडेल्धुराका महिलाहरु विरोध -याली निकाल्दै सडकमा उत्रिएका हुन।
निर्मला पन्तको हत्यामा पहुँचवालाको हात रहेको भन्दै घटना भएको झण्डै २ महिना सम्म पनि दोषीलाई कारवाही गर्न प्रहरी प्रशासनले आलटाल गरेको डडेल्धुराका महिला अधिकारकर्मीको ठहर छ। घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारले उच्चस्तरीय छानविन समिति पठाए पनि प्रभावकारी रुपमा छानविन गर्न नसक्दा प्रहरी प्रशासनबाट नै सबै प्रमाण नष्ट गरेको हुन सक्ने डडेल्धुराका महिला अधिकारकर्मी तथा महिला अधिकार रक्षक सञ्जाल डडेल्धुरा अध्यक्ष सोनी भण्डारीले आशंका व्यक्त गरिन।
विरोध ¥याली पश्चात डडेल्धुराका महिला अधिकारकर्मी कमला विष्टले नेपाली चेली बहिनीहरु दिन–प्रतिदिन असुरक्षाको घेरामा रहेको प्रति चिन्ता व्यक्त गरिन। साथै उनले न्यायका लागि ७७ वटै जिल्लामा जनता सडकमा उत्रिएका बेला सरकार निरीह भएको भन्दै आक्रोश पोखिन।
१३ वर्षीय बालिका निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरी फालेको अवस्थामा उखुबारीमा शव भेटिएको थियो।
प्रकाशित: ६ आश्विन २०७५ १३:३६ शनिबार