२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बिपी राजमार्गमा अतिक्रमण हटाइँदै

बिपी राजमार्गको धुलिखेलमा मापदण्डविपरीतका अवैध संरचना भत्काइँदै। तस्बिरः नागरिक

बनेपा - सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बिपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डमा मापदण्डविपरितका संरचना भत्काउन थालेको छ।

सरकारी मुआब्जा पाइसकेका जग्गाधनीले समेत सडक अतिक्रमणका साथै दायाँबायाँ अवैध संरचना बनाएको भन्दै आयोजनाले सोमबारदेखि त्यस्ता संरचना भत्काउन थालेको हो।

‘हामीले पर्याप्त अवधि तोकेर सूचना दिँदासमेत अतिक्रमण गर्नेहरूले अटेर गरेकाले भत्काउन बाध्य भएका हौं,’ आयोजनाका कामु प्रमुख राकेश महर्जनले भने, ‘सिन्धुली जिल्लातर्फको सडकमा अतिक्रमण हटाउने काम सुरु भइसकेको भए पनि काभ्रेमा ढिलै सुरु भएको छ। यस खण्डका सबै अवैध संरचना नहटाउन्जेल यो कार्य जारी रहन्छ,’ उनले थपे।

धुलिखेल, पनौती, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका हुँदै जाने राजमार्गको अतिक्रमण हटाउन आयोजनाले विगतदेखि नै प्रयास गर्दै आएको थियो। जनप्रतिनिधि नभएको अवस्थामा आयोजनाले अतिक्रमण हटाउन सकेको थिएन। ‘राजमार्ग जाने नगर/गाउँपालिकाका वडाध्यक्षज्यूहरूले अतिक्रमण हटाउन सहयोग गर्ने निर्णय गर्नु भएलगत्तै आयोजनाले काम सुरु गरेको हो’, महर्जनले भने। सोमबार राजमार्गको सुरु बिन्दु धुलिखेलदेखि अतिक्रमण हटाउन थालिएको हो।

‘हाम्रो वडामा अधिकांशले त्यस्ता संरचना स्वःस्फूर्त रूपमा हटाइसकेका छन् । राजमार्गको सौन्दर्य बिगारेको र दुर्घटना बढाउने भएकाले मापदण्डविपरीतका संरचनालाई हामीले हटाउन लगाएका हौं,’ धुलिखेल–११ का वडाध्यक्ष विष्णु धितालले भने।

आयोजनाले धुलिखेलदेखि नेपालथोकको ५० किलोमिटर खण्डमा १ सय ६९ वटा संरचना भत्काउनुपर्ने सूचना सार्वजनिक गरेको छ। आयोजनाले पटकपटक सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएका घर, टहरा र होर्डिङ बोर्ड हटाउन अनुरोध गर्दै आएको थियो। उक्त सूचनालाई अधिकांशले अटेर गरेपछि प्रहरी प्रशासनको सहयोगमा यसरी हटाउन थालिएको हो। ‘धुलिखेल–सिन्धुली–बर्दिवास सडकको दायाँबायाँ १५ मिटरको मुआब्जा दिइसकिएको छ। मुआब्जा पनि लिने र अतिक्रमण गर्न पनि नछाड्ने क्रम बढेपछि बाध्य भएर भत्काउन थालेका हौं,’ महर्जनले भने।

आयोजनाले वैशाखदेखि नै अतिक्रमण हटाउने प्रयास गरेको थियो। असारको अन्तिम साता सो राजमार्ग भएर पूर्व जाने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ आफैंले विभिन्न स्थानका पुल तथा बस्ती अनुगमन गरी आयोजनालाई राजमार्गको अतिक्रमण हटाउन निर्देशन दिएको महर्जनको भनाइ छ।

सवारीको भार मापन गरिने
पहिलो चरणमा सडक सीमा अतिक्रमण हटाएलगत्तै सो राजमार्गमा चल्ने सवारीको भार मापन गर्ने योजना रहेको प्रमुख महर्जनले जानकारी दिए, ‘दिउँसो सञ्चालन हुँदा बढी भार बोक्ने टिपरले रातभरि सामान बोक्न पाउँदा अहिलेभन्दा पनि बढी सामान बोक्ने हुँदा सडक झन् बिग्रन्छ। यो सडक बिग्रनुमा सबैभन्दा बढी दोषी क्षमताभन्दा बढी भारका टिपर र कार्गो ट्रक गुड्नु नै देखिएको छ,’ महर्जनले भने। कार्गो ट्रक र ओभरलोडेड टिपरबाहेकका साढे ४ हजार सवारीसाधन प्रतिदिन गुड्ने क्षमताको डिजाइनमा बिपी राजमार्गको निर्माण थियो। यतिखेर दैनिक ७ हजारसम्म सवारी साधन गुड्ने गरेकाले बाटो बिग्रने क्रम बढेको उनको भनाइ छ। आयोजनाले प्रत्येक ६–६ महिनामा काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोकमा यस्तो सर्भे गर्दै आएको छ। ‘कार्गो ट्रक र ओभरलोडेड टिपरसमेत निर्वाध रूपमा गुड्दै आएकाले सडक बिग्रने क्रम बढेको छ,’ महर्जनले भने।

पछिल्लो समय सबैभन्दा बढी यात्रुचाप रहेको अरनिको यातायात सेवा समितिले ठूला बससमेत यसै सडकको खुर्कोट हुँदै रामेछाप र दोलखासम्म गुडाउन थालेको छ। ‘सडक हामीले बनाए पनि त्यसमा चल्ने सवारीसाधनको निर्णय गर्ने यातायात व्यवस्था विभाग हो। सिंगल एक्सल १० दशमलव २ टन लोड (भारवहन)भन्दा बढी भार बोक्न नपाउने गरी यो सडक निर्माण भएको हो। तर, यतिखेर सडकको दायाँबायाँ मूलकोटसम्म सञ्चालित क्रसरहरूबाट ओभरलोडेड टिपर निर्वाध गुडिरहेका छन्,’ महर्जनले थपे।

प्रकाशित: २ आश्विन २०७५ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App