२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नौबिसे–नागढुंगा सडक जीर्ण

धादिङ - हिजोआज धादिङबेसीबाट बिहान ५ः३० बजे छुटेको बस दिउँसो ३ बजे आसपासमात्रै काठमाडौं पुग्छ। सामान्य समयमा धादिङबेसीबाट काठमाडौं पुग्न ३ घण्टा लाग्छ तर जीर्ण राजमार्ग र सवारीसाधनको चापले साढे १० घन्टा लाग्ने गरेको छ। उकालो बाटो, घुमाउरो मोड, ओभरलोडका सवारीसाधन र ओभरट्याकका कारण राजधानी छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडक खण्डमा घन्टौं जाम हुँदा यात्रु हैरान हुनुपरेको छ। यो सडक ठाउँठाउँमा जीर्णसमेत बनेको छ।

ठाउँठाउँमा भत्केकै कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसे–नागढुंगा खण्डमा अत्यधिक जाम हुन थालेको छ। ‘सरकारको बेवास्ताका कारण नेपालको सबैभन्दा पुरानो राजमार्ग जीर्ण बन्दै गएको छ,’ धादिङबेसीका रामबहादुर श्रेष्ठले भने, ‘राजधानी प्रवेश गर्ने सडकमा खाल्डाखुल्डी र बढी मोड भएकाले दुर्घटना बढाएको छ।’ धेरै सवारीसाधन चल्ने सडकको अवस्था कमजोर भएपछि यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढेको छ । जीर्ण सडकमा घन्टौं सवारी जाम हुँदा कति बेला गन्तव्यमा पुग्ने हो, ठेगान हुँदैन ।

आधा घन्टामा पार गर्न सकिने नागढुंगा–नौबिसे सडकखण्डमा जीर्ण भएकै कारण हिजोआज घन्टौं लाग्ने गरेको छ। ‘राजधानी आवतजावत गर्ने भरपर्दो मार्ग त्रिभुवन राजपथमा लामो समयदेखि सरकारको ध्यान गएको छैन’, श्रेष्ठले भने, ‘काम विशेषले यात्रा गर्नेलाई हरेक दिनको जामले हैरानी बेहोर्नुपर्ने हुन्छ।’

काठमाडौं जाने गाडी चल्ने लेनको अवस्था झनै जीर्ण छ । कालोपत्रे उप्किएर काम नलाग्ने भएको छ भने सडकका ठाउँठाउँमा खाल्टाखुल्टी मात्र होइन, कुलो जस्तै बनेको छ। पानी परेको समयमा खाल्टाखुल्टीमा पानी जम्ने गरेका कारण सवारीसाधन फस्ने गरेका छन् । उकालो बाटोमा बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारी साधन बाटोमै बिग्रिनाले बढी जाम हुने गरेको छ । साँघुरो बाटो भएकाले एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्। साइरन बजाए पनि साइड दिने बाटो नहुँदा एम्बुलेन्समा रहेका बिरामी झनै बिरामी बन्ने गरेका छन्। खासगरी पीपलामोड, झ्याप्लेखोला, टायलघरलगायतका मोडमा बढी जाम हुने गरेको छ। बाटोमै बिग्रिएका सवारीसाधनलाई तत्काल सडकबाट हटाउने उपकरण ट्राफिक प्रहरीसँग नहुँदा जाम झनै लम्बिने गरेको छ । अरु प्राविधिक उपकरण त परको कुरा, बजारमा जताततै पाइने एउटा गाडीले अर्को गाडी तान्ने फलामे डोरी (टुचेन) समेत ट्राफिक प्रहरीसँग छैन।

बिग्रिएको सडकका कारण सवारीसाधनमा समेत समस्या आउने चालकहरुको भनाइ छ। ‘साँघुरो सडक, उकालो बाटो, घुमाउरो मोडमा कति बेला सवारीसाधन बिग्रने हो, थाहा हुँदैन’, एक चालकले भने, ‘खाल्टाखुल्टी र सडकमा जमेको लेदो माटोले झनै दुर्घटनाको खतरा बढाएको छ।’ कमजोर कालो पत्रे र क्षमताभन्दा बढी भार बोकेर सवारीसाधन राजधानी आउने गरेका कारण सडकको अवस्था बिग्रेको हो।

त्रिभुवन राजपथको भारवहन क्षमता १० टनमात्र रहेको छ भने सवारीसाधनले १५ देखि १६ टनसम्म बोकेर राजधानी प्रवेश गर्ने गरेका छन्। यिनै गाडीका कारण सडकको देब्रे लेनमा असर गरेको छ। ठाउँठाउँमा देब्रे लेन पूरै भासिएको छ। बालुवा बोकी राजधानी पस्ने ट्रिपरले पानी चुहाउने गरेका कारण कारण पनि सडकको छेउतिरको लेन बिग्रने समस्या झनै बढेको हो।

देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने यो खण्डको यात्रा पछिल्लो समय कहालीलाग्दो भएको यात्रुहरुको भनाइ छ। जामकै मौका छोपेर स्थानीय व्यापारीले महँगोमा सामान बिक्री गर्दा पनि आफूहरुलाई झनै समस्या हुने गरेको एक यात्रुले बताए। बाटोमा जाममा परेको बेलामा २० रुपैयाँको पानीलाई ५० रुपैयाँ तिर्नुपरेको यात्रुहरुले बताएका छन्।

फोटो क्याप्सन ः मर्मत सम्भारको अभावमा जीर्ण नौबिसे–नागढुंगा सडकखण्डमा जाममा परेका सवारीसाधन ।
तस्बिर ः सरिता÷ नागरिक

प्रकाशित: २० भाद्र २०७५ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App