खोटाङ – ‘हाम्रो आवाज परिवर्तन समाज नमस्कार अभियान’ नामक फेसबुक पेजका सञ्चालकले मलेसियामा वेपत्ता भएका एक कामदारका परिवारलाई आर्थिक सहयोग गरेको छ।
दीर्घ रोगबाट पीडित एवं विपत्तीमा परेका सर्वसाधारणलाई सहयोग रकम जुटाउँदै आएको फेसबुक पेजका सञ्चालकले मलेसियामा वेपत्ता भएका सोलुखुम्बु थुलुङ दुधकौसीका गाउँपालिका–८ देउसाका मुगाचन्द्र राईको परिवारलाई २ लाख २१ हजार ८१५ रुपैयाँ आर्थिक सहयोग गरेको हो। गत असार २८ गतेदेखि वेपत्ता भएका राईका श्रीमति शान्तीमायाँ राईलाई ‘हाम्रो आवाज परिवर्तन समाज’का सदस्य भोगेन्द्र चामलीङले रकम हस्तान्तरण गरेको हो।
निम्न आर्थिकस्तर भएका राई परिवारको सहज जीवनयापनका लागि सदस्यबीचबाट रकम संकलन गरेर वेपत्ताको परिवारलाई प्रदान गरिएको ‘हाम्रो आवाज परिवर्तन समाज नमस्कार अभियान’का संस्थापक सदस्य कृष्णकला राईले बताइन्। राई रोजगारीका सिलसिलामा २०७१ साल माघमा मलेसिया पुगेका थिए।
हाल ६१ जना सदस्य आवद्ध फेसबुक पेजका सञ्चालकले यसअघि गत साउनमा समाजले पाँचथरकी बोनम्यारो क्यान्सर पीडित एलिस्ना राईलाई २० हजार, ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–४ की बोन क्यान्सर पीडित स्मृति सुनुवारलाई १० हजार, एउटा खुट्टा गुमाएका सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–५ का आङपासाङ शेर्पालाई १० हजार, फेदाप गाउँपालिका तेह्रथुमका दाँत क्यान्सर पिडित मनराज लिम्बुलाई १० हजार, भक्तपुर सूर्यबिनायक नगरपालिकाका प्यारालाइसिस तथा क्यान्सर पीडित हरिगोपाल ब्याञ्जु र बिष्णुदेबी ब्याञ्जुलाई १२ हजार सहयोग प्रदान गरेको थियो।
प्रकाशित: १४ भाद्र २०७५ ०९:५५ बिहीबार