७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बैंकिङ कारोबार गर्न स्थानीय घण्टौं हिड्न बाध्य

खोटाङ – बैंकिङ कारोबारका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाका स्थानीय घण्टौं हिँडेर उदयपुरको बेलटारसम्म पुग्न बाध्य बनेका छन्। स्थानीय तह कार्यान्वयनमा आएको वर्ष दिन बित्दासम्म गाउँपालिकामा बैंक स्थापना नहुँदा स्थानीय ६ घण्टा हिँडेर बेलटार पुगेर बैंकिङ कारोबार गर्न बाध्य छन्।

गाउँपालिकाका कतिपय स्थानीय खोटेहाङ गाउँपालिकाको खोटाङबजारस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा पुगेर बैंकिङ कारोबार गरे पनि कतिपय स्थानीय बेलटार जाने गरेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए।

खोटाङबजारबाट पनि १ लाखभन्दा बढिको भुक्तानी नदिने भएकाले सोभन्दा बढि रकमको विभिन्न आयोजनाका उपभोक्ता समिति अन्यत्र जान बाध्य बनेका हुन्। गाउँपालिकाका अनुसार कम्तीमा एक पटकमा १० लाखको चेक भुक्तानी गर्ने तथा २६ करोडसम्मको कारोवार गर्न सक्ने बैंकको आवश्यकता छ।

तर, गाउँपालिकामा सो अनुसारको बैंक नहुँदा विभिन्न योजनाको रकम भुक्तानीका लागि कतिपय स्थानीय दिक्तेल पुगेर बाणिज्य बैंकबाट आर्थिक कारोबार गर्न बाध्य छन्। स्थानीय तहमा बैंक नभएकै कारण शिक्षकले मासिकरुपमा गाउँपालिकाले दिँदै आएको तलब समेत बेलामा पाउन सकेका छैनन्। कुनैबेला चेकमा उपभोक्ता समितिका पदाधिकारीको सही नमिल्दा ओहोर–दोहोर गर्नुपर्ने झमेला आइलाग्ने गरेको स्थानीयको गुनासो छ। 

जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा कृषि विकास बैंक स्थापना भएपनि राष्ट्रिय वाणिज्य बैंकबाट गाउँपालिकासँग आर्थिक कारोबार गर्ने अनुमती नपाउँदा बैंकको कारोबार गर्न समस्या आएको हो। सो गाउँपालिकामा आउने तयारी गरेको सनराईज बैंक कृषि बिकास बैंकसँगको साझेदारीमा शाखा स्थापना नगरी फर्किएपछि बैंकिङ कारोबार गर्न कठिनाई भएको गाउँपालिकाकाका प्रमुख राईले बताए। सो पालिकाका सालपा बिकास बैंकले पनि शाखा खोल्ने तयारी गरिरहेको जनाइएको छ। 

 

प्रकाशित: २५ श्रावण २०७५ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App