५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

म्याद गुजारेर मूल नहर परीक्षण

काठमाडौं – सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षण मर्मतसुधारको म्याद गुजारेर गरिएको पाइएको छ । मूल नहर परीक्षणका क्रममा भत्किएको थियो । आयोजनाले १ मे २०१६ सम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता गरेको थियो।

सिँचाइ विभागका महानिर्देशक सरोज पण्डितले उक्त सम्झौताको नौ महिनापछिसम्म मर्मत र सुधारको दायित्व ठेकेदारकै हुने बताएका छन् । तर त्यसपछि ठेकेदारसँग अर्को सम्झौता गरिएको छैन । मूल नहर बनाएको सिटिसिई कालिका कन्स्ट्रक्सनले सन् २०१७ को फेब्रुअरीपछि कुनै दायित्व नभएको दाबी गर्दै आएको छ।

सिक्टा सिँचाइको ४५ किलोमिटर लामो मूल नहरमध्ये कालिकाले ४२ किलोमिटर बनाएको हो । सन् २०१५ मा निर्माण सकिएको मूल नहर दुुई वर्षअघि भत्कँदा त्यसको मर्मत र सुधारको काम कालिकाले नै गरेको थियो । स्थानीयबासी भने आयोजनाका कर्मचारी र ठेकेदारको मिलेमतोमा मर्मत र सुधारको अवधि थप नगरिएको बताउँछन् । नियमअनुसार किसानको खेतमा पानी पुगेको एक वर्षसम्म त्यो नहर भत्केमा मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीकै हुनुपर्छ । आयोजना कार्यालयले मर्मतसुधार म्याद गुजारेका कारण ठेकेदारलाई उन्मुक्ति दिइरहेको स्थानीयको भनाइ छ।

मर्मतसुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता नवीकरण गर्दाका बेला आयोजना प्रमुख रमेश बस्नेत थिए । त्यस अवधिमा मूल नहरको परीक्षण नगर्ने हो भने बस्नेतले ठेकेदार कम्पनीसँग मर्मतसुधारको अवधि थप गरेको सम्झौता गर्नुपथ्र्यो । मर्मत र सुधार गर्ने दायित्व थप हुन सकेको भए आयोजना सम्पन्न नहुँदासम्म पटकपटक भत्केको मूल नहर मर्मतसुधार गर्ने जिम्मा कालिकाको नै हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतले जनायो।

नियमअनुसार किसानको खेतमा पानी पुगेको एक वर्षसम्म त्यो नहर भत्केमा मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीकै हुनुपर्छ । आयोजना कार्यालयले मर्मतसुधार म्याद गुजारेका कारण ठेकेदारलाई उन्मुक्ति दिइरहेको स्थानीयको भनाइ छ।

‘ठेकेदारलाई उन्मुक्ति दिने गरी भत्केको मर्मत र सुधारको म्याद नवीकरण नहुँदा मिलेमताको आशंका गरिएको हो,’ स्रोतले भन्यो । किसानको खेतमा पानी नपुग्दै मर्मत र सुधारको म्याद किन थप नगरिएको भन्ने नागरिकको प्रश्नमा आयोजना प्रमुख बस्नेतले सिक्टामा भएको क्षतिबारे केही दिनअघि विज्ञप्ति निकालेको र आउँदो साता अर्को विज्ञप्ति निकालेपछि सबै समस्या समाधान हुने भन्दै बाँकी कुरा गर्न मानेनन्।

आयोजनाले साउन १८ गते प्रकाशित गरेको विज्ञप्तिमा भत्केको मूल नहर मर्मत भइसकेको उल्लेख छ । भत्केको नहर कसले मर्मत गर्याे भन्नेबारे केही खुलाइएको छैन । स्रोतले परीक्षणका क्रममा भत्केको नहर आयोजनाले नै बनाएको जनाएको छ।

विभागका महानिर्देशक पण्डितले किसानको खेतमा पानी नपुग्दासम्म मूल नहरको मर्मत र सुधारका लागि गरिने सम्झौता नवीकरण हुन आवश्यक रहेको बताए । उनले ठेकेदार र आयोजनाबीचको सम्झौता र पत्राचारलाई सूक्ष्म रूपमा भने हेर्न नभ्याएको दाबी गरे।

पटकपटक मूल नहर भत्कँदा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरवको उक्त आयोजनाप्रति अनिश्चितता बढ्दासमेत सरकारी निकायबीच मौनता बढ्नुको साथै उनीहरूले दिने सूचनासमेत बाझिने गरेका छन् ।
पछिल्लोपटक साउन ७ गते सिक्टाको मूल नहर परीक्षणका क्रममा भत्किएको थियो । दुई वर्षअघि पनि परीक्षणकै क्रममा सोही आयोजनाको मूल नहर काम नलाग्ने गरी ठाउँठाउँमा भत्किएको थियो।

पटकपटक मूल नहर भत्किँदा आयोजनाका अधिकारीले वास्तविकता पत्ता नलगाई घुलनशील माटोका कारण समस्या आएको दाबी गर्दै आइरहेका छन् । तर, सर्वसाधारण भने ठेकेदार कम्पनी र आयोजना, विभागका कर्मचारीको मिलेमतोमा कमसल काम र डिजाइनमा त्रुटि गरिएको आरोप लगाउँछन् । सन् २००९ देखि २०१५ सम्म ४२ किलोमिटर मूल नहर निर्माण गर्न कालिकाले साढे ६ अर्ब रुपैयाँ लिएको छ।

मूल नहर मर्मत र सुधार गर्न म्याद गुजारेको आयोजना कार्यालयले निययविपरीत बैंक ग्यारेन्टीको पूरै रकम फुकुवा गरिसकेको छ । २०६१÷६२ देखि निर्माण सुरु गरिएको सिक्टामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । उक्त आयोजनाले बाँकेको ४२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएको छ।

सुरुमा झन्डै १२ अर्ब रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न हुने अनुमान थियो । तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष ०७६–७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने लक्ष्य लिएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ । हालसम्म सिक्टाको करिब ५५ प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ।

परीक्षण गर्ने क्रममै नहर भत्किन थालेपछि सिक्टा सिँचाइ आयोजना दीर्घकालसम्म टिक्नेमा स्थानीयको शंका छ । पटकपटक भत्किने गरेको मूल नहरको १७.७ किलोमिटरदेखि ३५ किलोमिटरसम्मको दोस्रो खण्ड विवादित बन्न पुगेको हो । कतिपयले निर्माणको गुणस्तरमा प्रश्न गरिरहेका छन्।

प्रकाशित: २३ श्रावण २०७५ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App