३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

रसुवामा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण गरिने

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह निर्माणस्थल ।    तस्बिरः नागरिक

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरिने भएको छ। चीन सरकारले निर्माण गर्न लागेको बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। 

बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिसकिएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी जग्गा अधिग्रहण गरिसकिएको समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए।

‘स्थानीय बासिन्दाको जग्गा अधिग्रहण गरेर साढे ४८ करोड मुआब्जा वितरण गरिएको छ, निर्देशक बस्नेतले भने, छुटेका घर टहराको मुआब्जा पनि केही समयमा वितरण गर्छौ।’ चिनियाँ लगानीमा चिनियाँ पक्षलेनै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ। 

समितिले गत माघ १ गते चीनको छेन्दुमा पुगेर सुख्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो। सेप्टेम्बर अन्तिमबाट निर्माण कार्र्य सुुरु गरिने चिनियाँ पक्षले जानकारी दिएको उनले बताए। 

नेपाली पक्षले स्थानीय समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगायतका कार्य गर्नेछ। निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्नेछ। 

डीपीआरको काम सकाएर कन्ट्रयाक्टर छनौट गर्ने कार्य भइरहेको छ। आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो। करिब २ अर्बको लागतमा निर्माण गर्न लागिएको बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, ल्याब रहने छ। 

बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका २ वटा जाँचपास स्थल रहने उनले बताए। निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ। 

बन्दरगाहमा ३ सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ। ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। 

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि नेपालतर्फ चिनियाँलगायत तेस्रो मुलुकका पर्यटकको आगमन समेत बढेको छ।  आर्थिक वर्ष २०७४–७५ देखि यो नाका हुँदै भारतीय तिर्थयात्री समेत मानसरोबर जान थालेका छन्। पर्यटक, व्यापारी, व्यावसायीको आगमन बढ्दा व्यापार व्यावसाय समेत फस्टाउँदै गएको छ। बन्दरगाह निर्माण नहुँदा जाँचपासमा समस्या, पार्किङमा समस्या, सामग्री हराउने लगायतका समस्या पर्ने गरेको व्यापारी बताउँछन्। 

चीनबाट आउने मुख्य वस्तुहरूमा तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्री रहेका छन्। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रीम लगायतका मुख्य वस्तुहरू निकासी भइरहेको छ। 

प्रकाशित: १६ श्रावण २०७५ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App