बैतडी– जिल्ला अस्पताल बैतडीमा प्रसूति गराउन आउने हरेकले अप्रेसन नगर्नु परोस् भन्ने कामना गर्छन्।
अप्रेसन गराएर बच्चा जन्माउँदा रगत आवश्यक परे सास्ती हुन्छ भनेर हरेक सेवाग्राहीले यही कामना गर्ने गरेका हुन् । जिल्लामा ब्लड बैंक नहुँदा रगत खोज्न समस्या हुने गरेको छ । सितिमिति रक्तदाता भेटाउनै गाह्रो हुन्छ, भेट्टाएमा ग्रुप नमिल्ने चिन्ता हुने गरेको सेवाग्राही बताउँछन् । रगतकै लागि ग्रामीण क्षेत्रबाट प्रसूति गराउन जिल्ला अस्पताल पुग्दा स्थानीयले सास्ती भोग्ने गरेका छन् ।
जिल्लामा जटिलतायुक्त प्रसूति सेवा सुरु भएपछि रगतको आवश्यकता पर्न थालेको हो । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरू भएयता रगत खोज्न समस्या हुँदै आएको हो । रक्तसञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन् । रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ।
रक्त संकलन केन्द्र नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ । चिनेजानेका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन् । त्यहाँ नपाए अन्य उपाय नै छैन । ‘अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछांै,’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले भने ।
पछिल्लो समय अस्पतालको सेवामा सुधार आएपछि छिमेकी जिल्ला दार्चुला, बझाङबाट समेत उपचारका लागि बैतडी आउने गरेका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको हो । जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा सुरू भएपछि रगतको आवश्यकता बढेको हो ।
गत वर्ष २६ जनाले जटिलतायुक्त प्रसूति गराइएका थिए भने यो वर्षको जेठसम्म १२ जनाले यो सेवा लिएका छन् । समान्य सुत्केरी हुन नसक्ने अवस्था आएपछि चिरफार गरेर बच्चा जन्माउने गरिएको छ । जटिलतायुक्त प्रसुती (चिरफार) गराउँदा रगत आवश्यक पर्दा समस्या हुने गरेको छ । जिल्लामा रगत अभाव र बढी समस्या भएको केश भने अन्यत्र रिफर गर्ने गरिएको छ । जिल्लामा प्रसूति गराउन समस्या भएका गत वर्ष २९ र यो यो वर्ष जेठसम्म ४१ जना रिफर गरिएको छ । जटिल प्रकृतिका जिल्ला अस्पतालले नसकेका केश मात्र रिफर गरिएको अस्पतालले जनाएको छ ।
अप्रेसन गर्नु अघि नै रक्तदाता तयार गर्नुपर्ने हुन्छ । रगत आवश्यक परे तुरुन्तै रगत दिन यस्तो गरिएको हो । तर रक्तदाता पाउनै समस्या हुने गरेको जिल्ला अस्पतालले जनाएको छ । रक्तदाता नपाएर बिरामीलाई रिफर गर्नुपर्ने अवस्था कम गर्न सुत्केरी हुन अस्पताल आउने महिलासँगै श्रीमान् वा जिम्मेवार पुरुष आउनु पर्ने नियम अस्पतालले बनाएको छ । पुरुष साथमा भए दौडधुप गरेर रक्तदाता खोज्न सक्ने र अन्य व्यवस्थापनमा सजिलो हुने भएकाले यसो गरेको अस्पतालले जनाएको छ ।
पटकपटक रक्तसञ्चार केन्द्र बनाउन छलफल गरेपनि अन्य सरोकारवालाले चासो नदेखाउने गरेको स्वास्थ्य कार्यालयको आरोप छ । स्वास्थ्य कार्यालयले रगतको व्यवस्था गर्न पटकपटक जिल्लास्थित सरोकारवालासँग आग्रह गरेको बताएको छ । राजनीतिक दल, कर्मचारी र अगुवाले आफ्नो संस्थाका तर्फबाट रक्तदान गर्न चाहनेहरूको विवरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयन गरेका छैनन्। रगत नपाउँदा चिकित्सक आफैले रगत दिएर उपचार गर्ने गरेका छन् । जिल्ला अस्पतालकै चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीले धेरैपटक रगत दिएर बिरामीको उपचार गरेको सूचना अधिकारी जोशीले बताए ।
साउन यता मात्र जिल्लामा सात जनाले रगत दिएका छन् । जसमा चार जना नेपाली सेना, दुई जना स्वास्थ्यकर्मी र एक सर्वसाधारणले रगत दिएका हुन् ।‘जिल्लामा ब्लडबैंक छैन,’ नेपाल रेडक्रस बैतडी शाखाका मन्त्री रमेशसिंह भण्डारीले भने, ‘ब्लड बंैक नहुँदा रेडक्रसले रक्तदाताको ग्रुप छुट्याएर सम्पर्क नम्बरसहित नामावली तयार गरेको छ ।’ तर रगत चाहेको बेलामा ति व्यक्ति सम्पर्कमा नआउदाँ रगत खोज्न समस्या हुने गरेको छ । नजिक उपलब्ध भएका व्यक्तिको रगत समूह नमिल्दा सास्ती हुने गरेको हो ।
प्रकाशित: ३१ जेष्ठ २०७५ ०५:५० बिहीबार