ताप्लेजुङ – ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले दोभान स्थित तमोर नदी माथि निर्माणाधिन पुलको पछिल्लो निमार्णको कार्यको नियमित अनुगमनको जिम्मा दोभान प्रहरीलाई दिएका छन् ।
दोभानमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख,प्रहरी निरीक्षक लेखनाथ दाहाललाई प्रजिअ जिसीले पुल निर्माण कार्यको नियमित अनुगमन गरी प्रशासनमा जानकारी दिन जिम्मेवारी दिएका छन्।
पुल निर्माणको कार्य ओगटेर लामो समय सम्म काम फत्ते गर्न असफल रहेको निर्माण कम्पनी कन्काई इन्टरनेस्नल बिल्र्डस झापाको तर्फबाट पुल बनाउने कार्यमा खटिएका प्रतिनिधि प्रभुराम बिमलीलाई काम सक्न भदौ २० गते सम्मको लिखित कागज गराएका उनले कार्यप्रगतिको नियमित अनुमगनका लागि प्रनि दाहाललाई जिम्मेवारी दिएका हुन्।
प्रजिअ जिसीले कामको प्रगति नदेखिए तत्काल एक्सन लिने तयारी स्वरुप दोभान प्रहरीलाई कार्य प्रगतिको नियमित अनुमगन र प्रगति सुची प्रशासनमा पठाउन निर्देश गरेको जनाएका छन्। बिहीबार मात्र प्रजिअ जिसीले पुल निमार्ण कार्य अवस्था अवलोकन गर्दै निर्माण ओगटेर कार्य पूरा नगरेको भन्दै कम्पनी कन्काई इन्टरनेस्नल बिल्र्डस झापा, सुरुङ्गालाई लिखित समयसिमा दिएका थिए।
२०७२ साल असोज मसान्तमै सकिनुपर्ने पुल निर्माण कार्य अझै पूरा नहुँदा त्यसक्षेत्रका बासिन्दाले विकासको समृद्धि अभियानमा तगारो लागेको आक्रोसित प्रतिक्रिया दिन थालेका छन्।
प्रकाशित: २४ जेष्ठ २०७५ ११:१९ बिहीबार