२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

महिलामा मानसिक रोग बढी

काठमाडौं - परिवारमा दिदीबहिनी, आमामध्ये कसैमा बिनाकारण डराउने, झन्झट मान्ने, जाँगर नलाग्ने, एकान्त रुचाउने वा यीमध्येका कुनै लक्षण देख्नुभएको छ ? हो भने मानसिक रोग लागेको हुन सक्छ । यस्तोमा बेलैमा ख्याल गर्नुपर्छ।

बर्र्सेनि महिलामा मानसिक समस्या बढिरहेको सरोकारवाला संस्थाहरूले औंल्याएका छन् । सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र) नेपालले आफ्नो प्रतिवेदनमा महिलामा मानसिक रोग बढी पाइएको जनाएको छ । केन्द्रले सञ्चालन गरेको सामुदायिक मनोसामाजिक कार्यक्रममार्फत ३४ जिल्लामा उपचार पाएका ४९ हजार १२ जनामा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष छन् ।

टिचिङ अस्पताल मानसिक विभागमा उपचार गर्न पुगेका बिरामीमा दोब्बर महिला छन् । विभागमा दैनिक ९० देखि सयजना उपचारका लागि पुग्छन् । उपचारमा पुग्ने कुल बिरामीमा १० प्रतिशत कडा मानसिक रोगी र बाँकी ९० प्रतिशत कम कडा मानसिक रोगी छन् । महिलामा कम कडा मानसिक रोग बढ्दै गएको पाइएको टिचिङ अस्पताल मानसिक रोग विभागका प्रमुख डा.सरोजप्रसाद ओझाले बताए । उनी भन्छन्, ‘तीन कम कडा मानसिक बिरामीमा दुईजना महिला नै हुन्छन् ।’ बीसदेखि तीस वर्षभित्रका र ५० देखि ६० वर्ष उमेर समूहका महिलामा यो समस्या बढेको देखिन्छ ।’

महिलामाथि हुने घरेलु हिंसा, लैंगिक हिंसा, सामाजिक÷सांस्कृतिक दबाब, वैदेशिक रोजगारका कारण हुने पारिवारिक विखण्डन, परिवारमा दोहोरो जिम्मेवारी, सामाजिक लाञ्छना, परिवारको एकल बोझ, यौन हिंसा, बलात्कारजस्ता कारणले महिलामा मानसिक रोग बढ्दै गएको छ।
 

महिलामा पछिल्लो पाँच वर्षयता यो समस्या हवात्तै बढेको डा.ओझाको भनाइ छ । उनीहरूमा एन्जाइटी (डर–चिन्ताको रोग),डिपे्रसन बढी देखिएको छ । कडा मानसिक रोग भने पुरुषमा बढी रहेको छ । यी रोग लागेपछि उनीहरू अनेक रोग लागेको भान भई उपचारमा पुग्छन् । तैपनि रोग निको नभएपछि अन्तिममा मात्र मनोचिकित्सककोमा पुग्ने गरेका छन् । मानसिक समस्या भएका महिलामा निद्रा नलाग्ने, बिनाकारण आत्तिने, डराउने, जाँगर नलाग्ने, निराश हुने जस्ता समस्या देखिन्छन्।

यी समस्या लामो समयसम्म रहिरहेमा उनीहरू आफ्नो ख्याल गर्न नसकी जागिरबाट निष्काशन हुने, परिवारको जिम्मेवारी पूरा गर्न नसक्ने, मानसिक रोगका कारण उपचारमा अनावश्यक खर्च हुने, रक्सी चुरोट र सुर्ती सेवन गर्ने जस्ता समस्यामा पर्ने गर्छन् । ‘ मनोरोगका कारण धेरैको जागिर छुटेको हुन्छ, परिवारको जिम्मेवारी पूरा गर्न नसक्दा परिवारमै असर पुग्छ,’ डा.ओझाले भने ।यी रोग भएकामा आत्मविश्वास नहुने, कुनै काममा पनि स्थिर नहुने, जाँगर नलाग्ने, बिनाकारण मन आत्तिने, डराउने जस्ता मनोसमस्या देखिन्छन् ।

यी समस्याका कारण महिलाले आफैलाई समाल्न नसकेर जागिरबाट छुट्ने, परिवारको जिम्मेवारी पूरा गर्न नसकी सामाजिक दायित्वबाट विमुख हुने अवस्थामा पुग्ने मनोचिकित्सक बताउँछन् ।महिलामाथि हुने घरेलु हिंसा, लैंगिक हिंसा, सामाजिक÷सांस्कृतिक दबाब, वैदेशिक रोजगारका कारण हुने पारिवारिक विखण्डन, परिवारमा दोहोरो जिम्मेवारी, सामाजिक लाञ्छना, परिवारको एकल बोझ, यौन हिंसा, बलात्कारजस्ता कारणले महिलामा यी रोग बढ्दै गएको मनोचिकित्सकको भनाइ छ । ‘एउटा कारण रोग नै बढेको हो, अर्को कारण उपचारमा आउने पनि बढेका हुन्,’ उनले भने ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रका अनुसार विशेष गरी पति विदेश गएका महिलामा मानसिक समस्या बढी देखिन्छ । उनीहरूमा पारिवारिक बेमेल, विदेश गएको पति सम्पर्कमा नआउनु, परिवार÷समाजले लगाउने लाञ्छना, पतिले पैसा नपठाउनु, सुरक्षा अभावजस्ता कारणले समस्या बढेको छ ।

‘पति रोजगारीमा गएका महिलामाथि हिंसा र लाञ्छना बढी लगाउने र पारिवारिक बेमेलका कारण मानसिक रोगको शिकार भएको देखिन्छ,’ केन्द्रकी मनोविद् करुणा कुँवरले भनिन्।मानसिक रोगका कुनै पनि लक्षण देखिएका बिरामीलाई छिटोभन्दा छिटो मनोचिकित्सककोमा पुर्‍याउन सके औषधि तथा परामर्शका माध्यमबाट निको हुने चिकित्सक सुझाउँछन् ।‘मानसिक रोग लामो समय रहिरहेमा व्यक्ति र परिवारमा धेरै नै हानी पुगिसकेको हुन्छ,’ डा.ओझाले भने।

प्रकाशित: २० वैशाख २०७५ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App