२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सात प्रतिशत भूकम्प पीडितको सम्झौता हुनै बाँकी

मकवानपुर– भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ३ लाख ६४ हजार ४ सय ७६ भूकम्प प्रभावित लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्। जून प्रदेशको कूल लाभग्राही ५ लाख ९३ हजार ५ सय १६ मध्ये ६१ दशमलब ४० प्रतिशत मात्र हो। अनुदान सम्झौता गरेका प्रदेशका ५ लाख ४९ हजार ४ सय ९७ मध्ये पनि ३३ दशमलब ६७ प्रतिशत अर्थात् १ लाख ८५ हजार २१ भूकम्प पीडित लाभग्राहीले आवास निर्माण सुरु गरेका छैनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले आवास पुनर्निर्माण अनुदान पाउन योग्य देशभरका ७ लाख ६७ हजार ७ सय ५ मध्ये प्रदेश ३ को १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ अर्थात् ७७ प्रतिशत रहेको बताए। उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैशाख १२ गतेसम्मको तथ्याङ्क अनुसार ५ लाख ३८ हजार १ सय ९७ लाभग्राहीले पहिलो किस्ताको रकम लिएपनि ११ हजार ३ सयले अझै लिएका छैनन्। सबैभन्दा बढी लाभग्राही भएको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोटका सबैले पहिलो किस्ता लिएपनि दोलखा, मकवानपुर, चितवनका धेरैले पहिलो किस्ता नै नलिएका हुन्।

प्रदेशका ५ लाख ९३ हजार ५ सय १६ लाभग्राहीमध्ये ५ लाख ४९ हजार ४ सय ९७ अर्थात् ९२ दशमलब ५८ प्रतिशतले मात्रै अनुदान सम्झौता गरेका छन्। आवश्यक कागजपत्र, जग्गा अभाव लगायतका कारण चितवनबाहेक १२ जिल्लाका लाभग्राही सूचीमा रहेका करिब ७ दशमलब ४२ प्रतिशत अर्थात् ४४ हजार १९  भूकम्पपीडितको अनुदान सम्झौता हुन सकेको छैन।

भूमिहीन र जोखिममा रहेका लाभग्राहीका कारण सम्झौता हुन नसकेको प्राधिकरणले जनाएको छ। प्रदेशमा कूल १९ हजार ७ सय १६ भूमिहीन लाभग्राहीमध्ये संस्था वा गुठीको जग्गामा ७ हजार ४ सय ८०, सरकारी वा सार्वजनिक जग्गामा ८ हजार ७ सय ४९ र अन्य ३ हजार ४ सय ८७ गरी छन्। संस्था वा गुठीको जग्गामा रहेका सबैभन्दा धेरै लाभग्राही सिन्धुपाल्चोक, दोलखा, काठमाडौंका छन् भने सरकारी वा सार्वजनिक जग्गामा सिन्धुली र मकवानपुरमा धेरै लाभग्राही छन्।
प्रदेशमा रहेका १३ हजार २ सय ४४ जोखिममा रहेका लाभग्राहीमध्ये नाबालक÷नाबालिका ७७, अपाङ्गता (रातो वा निलो कार्ड) १ सय ७५, बृद्ध ६ हजार ५ सय ६० र एकल महिला ६ हजार ४ सय ३२ रहेका छन्।

७ वटा प्रदेशमध्ये सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ को १३ वटै जिल्ला भूकम्प प्रभावित हुन्। नेपालको भूकम्पबाट अति प्रभावित १४ मध्ये १२ जिल्ला र कम प्रभावित १८ जिल्लामध्ये चितवन पनि यस प्रदेशमा पर्छ। देशभर सर्वेक्षण भएका ९ लाख ९६ हजार ५ सय ८२ घरपरिवारमध्ये ७ लाख २७ हजार ६ सय ७६ अर्थात् ७३ प्रतिशत लाभग्राही प्रदेश ३ कै छन्। प्रवलीकरणमा सूचीकृत लाभग्राही २४ हजार ९ सय ९१ मध्ये प्रदेश ३ का ६७ प्रतिशत अर्थात् १६ हजार ७ सय ९७ छन्।

सरकारले निजी आवास पुनर्निर्माण गर्न ३ लाख, निजी आवास प्रवलीकरण गर्न १ लाख, जोखिमयुक्त वस्तीका लाभग्राहीका लागि जग्गा खरिद गर्न २ लाख र भूमिहीन भूकम्प पीडितका लागि जग्गा किन्न २ लाख अनुदान दिने ब्यवस्था गरेको छ।

पुनर्निर्माणतर्फ सबैभन्दा बढी लाभग्राही सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ्गमा रहेका छन् भने प्रवलीकरणतर्फ सबैभन्दा बढी मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली रहेका छन्। १ हजार ४ सय ३३ पुरातात्विक सम्पदाहरुको क्षति भएको ३ नम्बर प्रदेशमा ९ सय ३२ गुम्बामा क्षति पुगेको तथ्याङ्क छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय पुनर्निर्माणसम्बन्धी अन्तरक्रियामा सहभागी प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका साँसद र जिल्ला समन्वय समितिका प्रतिनिधीले पुनर्निर्माण प्रभावकारी नभएको भन्दै रोष प्रकट गरे।

मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण निक्कै सुस्त भएको भन्दै त्यसको जिम्मा प्रदेश सरकारलाई दिए तिब्र गतिमा गर्ने दाबी गरे। भूकम्प पीडितलाई दिने अनुदानको ३ चरणको किस्ता वितरण अव्यवहारिक भएको भन्दै यही गतिमा पुनर्निर्माण गरिए ५ बर्षमा पनि नसकिने ठोकुवा गरे। 

प्रकाशित: १५ वैशाख २०७५ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App