२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

गुराँस नफुल्दा निराश

चिचिलाबाट गुराँसको फूल नपाएर रित्तो हात घर फर्किदै गरेका पर्यटकहरू। तस्बिरः मेघराज तामाङ/नागरिक

चिचिला – संखुवासभा १ नम्बर प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ। विश्वकै होचो अरुण उपत्यका, विश्वको पाँचौ अग्लो मकालु हिमाल, लाली गुराँसको राजधानी तीनजुरे जलजले मिल्के अन्य धार्मिक स्थल र ताल पोखरीहरू यहाँका पर्यटकीय गन्तव्यहरु हुन्। यी बाहेक आन्तरिक पर्यटकका लागि थुप्रै पर्यटकीय क्षेत्रहरू पनि छन्। विशेषगरी पर्यटकीय क्षेत्र घुमफिरका लागि मानिसहरू नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई नै रोज्छन्।

वैशाख १ गते आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने गरेको चिचिलामा यो वर्ष पर्यटकको संख्या ह्वात्तै घटेको छ। विगत वर्षहरूमा ५–१० हजार पर्यटक आवतजावत गर्ने चिचिलामा यो वर्ष करिव ३ हजार पर्यटकहरू आएको चिचिला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङले बताए। वर्षेनी पर्यटकहरूको बढ्दो क्रम थियो, तर यसपाली सोचे जती पर्यटक नआएको उनको भनाई छ।

विशेषगरी चिचिलामा गुराँस फूलेको हेर्न आउने पर्यटकहरूको संख्या घटेको उनी बताउँछन्। चैत्र महिनादेखि गुराँस फुल्न सुरु गर्छ। तर यो वर्ष गुराँसको कोपिला मात्रै हुँदा चिचिला पुगेका पर्यटकहरु निराश भए। प्रत्येक वर्ष वैशाख १ गते चिचिला घुम्न पुगेका पर्यटकहरू वन भरी थरीथरी फूलेका गुराँस हेरेर फर्किन्थे। गुराँसका फूल एकले अर्कोलाई दिँदै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्थे। तर यो वर्ष गुराँसको फूल हातमा बोक्नेहरू सायदै कम थिए।

गुराँसको फूल हातमा बोकेकाहरूले आप्mना साथीलाई नयाँ वर्षको शुभकामना दिए पनि गुराँस दिएनन्। किनकी गुराँसको फूल टिप्नेहरू सायदै कम थिए। सैयाैं गुराँसको बोट मध्ये १–२ ओटा बोटमा मात्रै गुराँस फुल्नु र फुलेका गुराँस टिप्न पनि उत्तीकै मुस्किल थियो।

सदरमुकाम खाँदबारीबाट ३ घण्टा गाडीको यात्रा गरेर चिचिला पुगेका खेवाहाङ मेवाहाङ गुराँसको फूल नलिई फर्किए। गत साल चिचिलाबाटै नयाँ वर्षको स्वागत गरेका मेवाहाङले पोहोर साल फूलेको गुराँसको फूल मात्रै सम्झिए। उनले भने पोहोर कै जस्तो सम्झिएर गुराँस हेर्न आएको तर देख्नै नपाएको बताए। जंगलबाट मानिसहरू अँगालो भरी गुराँस लिएर फकिन्र्थे तर अहिले गुराँस टिप्न जंगल पस्नेहरू पनि निराश हुँदै फर्किएका थिए।

गुराँस नफुलेकै कारण पर्यटकहरूको आवागमन घटेको चिचिला गाउँपालिका २ का जेम्स राईले बताए। उनले भने चैत्रबाट फूल्नु सुरु हुन्थ्यो तर अहिलेसम्म कोपिला मात्र देख्न पाइन्छ। जलवायु परिवर्तन यस्को मुख्य असर हुन सक्ने राईको भनाई छ। उता नयाँ वर्षमा गुराँसको राजधानी तीनजुरे जलजले मिल्के घुम्न गएका सुरेन्द्र तामाङ पनि सदा झै गुराँस फूलेको नपाएको बताउँछन्। पहिले जस्तो बाक्लो गरेर गुराँस नफुलेको उनले भने।

प्रकाशित: २ वैशाख २०७५ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App