पछिल्लो समय कोषको नक्सांकनलाई संसाभरका वैज्ञानिकहरूले महत्त्व दिएयता मानिसको पाचन प्रणालीका गम्भीर रोगदेखि आर्थराइटिस जस्ता समस्यामा निकै ठूलो उपलब्धि हात पर्न थालेको अध्ययनमा देखिएको छ। कोभिड १९ को प्रकोप बढ्न थालेपछि संसारभरका वैज्ञानिकहरूले मानव कोषको नक्सांकन थालेका थिए।
विभिन्न मानिसमा हुने जेनेटिक विविधताले रोग प्रसारमा कस्तो भूमिका खेल्छ भनी गहन अध्ययन गरिएको थियो। यसको अर्थ, कुनै रोग लाग्दा विभिन्न व्यक्तिमा विभिन्न किसिमका प्रभाव देखिन्छन्। कुनै शरीरमा एउटै रोगले गम्भीर किसिमको प्रतिक्रिया जनाउँछ भने कुनैमा सामान्य प्रतिक्रिया देखाउँछ। यस्तो किन हुन्छ भनी जान्नका लागि मानव शरीरका कोषहरूको नक्सांकन गर्नु जरुरी थियो। यो नक्सांकन एक किसिमको कोष बायोलोजीको गुगल म्यापजस्तै हो।
मानव शरीरको कोषका आन्तरिक विविधता र क्लिष्टता बुझ्न निकै कठिन हुन्छ। तिनको काम गर्ने शैली र लक्ष्यका बारेमा शोधकर्ताहरूले बुझ्न जरुरी थियो। यो किसिमको म्यापिङले गुह्य सूचना र जानकारीहरू वैज्ञानिकहरूले थाहा पाउन सक्छन् भन्ने विश्वासका साथ परियोजनालाई विश्वव्यापी गरिएको थियो।
अब यसको परिणाम पनि आउन थालेको छ। जसअन्तर्गत कसरी हाम्रो शरीर बढ्छ, उमेर बढ्दै जाँदा हाम्रो कोषहरू कसरी जवान हुन्छ र मर्छ भन्ने थाहा पाउन सहज भएको छ। यसमा आर्टिफिसियल इन्टेलिजेन्सको पनि भरपूर विश्लेषण सहयोग लिइएको छ।
उपलब्ध व्यापक जैविक डेटासेटले सो बुझाइलाई फराकिलो बनाउन मद्दत पु¥याइरहेको ह्युमन सेल एटलास प्रोजेक्टकी संस्थापक अध्यक्षहरूमध्ये एक सारा टेकम्यानले फाइनान्सियल टाइम्ससँग बताइन्।
यसबाट अब स्वास्थ्य र रोगबीचको बुझाइलाई अझ खार्न सहयोग पुर्याउने बलायतस्थित क्याम्ब्रिज स्टेम सेल इन्स्टिच्युटकी जेनोमिक विज्ञ साराको धारणा छ। यसले खास किसिमका जीनहरू, तिनको काम गर्ने शैली र कोषका विविध प्रकार र तिनले तन्तुहरूमा खेल्ने भूमिकाबारे बुझ्न सजिलो पारिदिएको छ। यसबाट अब खास व्यक्ति केन्द्रित औषधोपचार गर्न सहज हुने र औषध विज्ञान अर्को तहमा पुग्नेसमेत सारा बताउँछिन्।
यस परियोजनामा संसारभरका एक सय देशका वैज्ञानिकहरूले एक सय मिलियन कोषहरूको नक्सांकनका लागि सहभागिता जनाएका थिए। ती कोषहरू १० हजारभन्दा बढी व्यक्तिबाट लिइएको थियो।
पाचन प्रणालीका समस्या पहिल्याउन स्वस्थ तथा रोगी तन्तुहरू पत्ता लगाउन, विविध कोष प्रकारहरू बुझ्न र तिनले पाचनक्रियामा देखाउने सक्रियताका बारेमा सघाउ पुगेको वैज्ञानिकहरू बताउँछन्। त्यस्तै अन्य शोधहरूमा मानव कंकालको स्वरूपमाथि पनि अध्ययन भएको छ। यस अध्ययनले आर्थराइटिस रोग, त्यसले पाचनक्रियाको गडबडी र त्यसले घुँडा तथा कुहिनोका जोर्नीहरूमा ल्याउने समस्याबारे बुझ्न पनि सघाउ पुर्याएको वैज्ञानिकहरू बताउँछन्।
अर्को एउटा अध्ययनले भने प्लासेन्टामार्फत भ्रूणले प्राप्त गर्ने पोषक तत्व र यसले तिनको विकासमा खेल्ने भूमिकाबारे पनि शोधअध्ययन पूरा भएको छ। यी सबै अध्ययन प्रतिवेदन र शोधले मानव शरीरबारे बुझ्न निकै ठूलो भूमिका खेल्ने विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक जेरोमी फरार बताउँछन्। यी ‘ल्यान्डमार्क’ शोधपत्रले आउँदा दिनमा वैज्ञानिक खोजमा अझ बढी भूमिका खेल्ने उनले बताए।
अध्ययनले हाम्रो शरीरमा रहेका लगभग ३७ ट्रिलियन कोषहरूका बारेमा बुझ्न गहन कदम चालिएको र यसले सकारात्मक परिणाम ल्याइरहेको बताए। अझै धेरै काम गर्न बाँकी रहेको भए पनि यो असम्भव काम पनि फत्ते हुनु स्वागतयोग्य कार्य रहेको उनले बताए।
प्रकाशित: १७ मंसिर २०८१ ०७:५४ सोमबार