१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कुबेलाको सुताइ खतरनाक

यस्ताे पनि!

<br>

तपाईं कतिबेला सुत्नु हुन्छ? कहिले ९ बजे, कहिले १० त कहिले ११ बज्छ भने तपाईं मुटुको रोगी हुने सम्भावना बढी छ। तपाईंको सुताईको समय सधैँ एउटै हुन्छ भने तपाईंलाई मुटुको व्यथाले कम सताउन सक्छ।

कम्तीमा सातदेखि नौ घण्टासम्म सुत्न पाउनुभयो भने तपाईंको स्वास्थ्य स्थिति ठीक हुने सम्भावना बढी हुन्छ। तर पछिल्लो समय भएको अध्ययनमा भने तपाईंले बढीभन्दा बढी समय सुते पनि तपाईंको सुताईको शैली नियमित छैन भने स्वास्थ्यका लागि घातक हुनसक्छ। हरेक दिन बेग्लाबेग्लै समयमा हुने अनियमित सुताईले मुटुको समस्या निम्त्याउने अध्येताहरूले बताएका छन्। आठ घण्टाको पूर्ण सुताई मात्र स्वस्थकर नहुनेतर्फ चिकित्सकहरूले औँल्याएका छन्।

जर्नल अफ इपिडिमियोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनअनुसार ४० देखि ७९ वर्ष उमेर समूहका ७२ हजार दुई सय ६९ बेलायतीमाझ यो अध्ययन गरिएको थियो। कुन बेला सुत्न जानु सही समय हुन्छ भन्नेबारे यस अध्ययनले ठ्याक्कै बताउन सकेको छैन तर अनियमित समयले भने स्वास्थ्यलाई हानि पुर्‍याउने कुरामा भने चिकित्सकहरू सहमत छन्।

युनिभर्सिटी अफ ओटावाका मुख्य अनुसन्धाता जँ फिलिप कापुटले हरेक दिन उही समयमा सुत्नु आवश्यक रहेको औँल्याए। उनले कुनै व्यक्तिले हरेक दिन बढीमा ३० मिनेटको तलमाथि पारेर सुत्नुपर्ने बताए। जति सुताई समयमा फरक हुँदैन, स्वास्थ्य उति राम्रो हुने उनको तर्क छ।

हरेक पटक सुताईको समयजस्तै उठ्ने समयमा पनि धेरै फरक पार्न नहुने उनको बुझाइ छ। बिहान ठीक उही समयमा उठ्यो भने स्लिप रेगुलारिटी इन्डेक्स (एसआरआई) मा फरक पर्दैन। मान्छेको जीवनमा एसआरआई निकै महत्वपूर्ण भएकाले यसलाई ध्यान दिन उनको सुझाव छ। कमजोर एसआरआई हुनेहरूमध्ये ६१ प्रतिशतलाई मुटुको व्यथा लाग्ने सम्भावना हुन्छ भने नहुनेहरूमध्ये ४८ प्रतिशतलाई मुटुको व्यथाले सताउने सम्भावना हुने विज्ञहरूको ठम्याई छ।  

प्रकाशित: १३ मंसिर २०८१ ०६:३१ बिहीबार

# Even this! # Kubela's sleep is dangerous # Slip Regularity Index (SRI)