नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे। गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच–छ लाख रूपैयाँसम्म आम्दानी गर्छन्। खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गरेका छन्। छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन्।
कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई। मलाई अमेरिका यही, मलाई जापान पनि यही। गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन्। उनले हाँस्दै भने, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो?”
पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ। खड्का भन्छन्, “बजारमा पाइला टेक्नेबित्तिकै गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है आयो, आफ्नै बारीमा फलाएको, अर्गानिक तरकारी, किन्नुस् भन्दै बजारबजार डुल्दै चिच्याउनुहुन्छ ठट्यौली शैलीमा।”
उनको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकांश मानिसले सिको गर्न थालेका छन्।
“सानै उमेरमा हिमाञ्चल गएँ, दुःख पाएँ। अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो। गाउँ फर्किएर तरकारी लगाएँ। १४ वर्षकै उमेरमा विदेश (भारत) मजदुरी गर्न गएँ। आजभोलि गाउँकै अगुवा कृषक बनेकाे छु। पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए त्यसपछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारीखेतीतिर लागेको हुँ”, उनले भने।
हाँसेर कुरा गर्ने उनको स्वभाव हो। दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौँसुर, बिन्द्रासैनी, जम्बुकाँध लगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुरयाउँछु।
“एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो, उनी भन्छन्, “बुढो मुन्छे, डोको बोक्दाबोक्दा थाप्लोका रौँ गइसके। केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु!”
श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन्। खड्काले गाईवस्तुका बाहेक अन्य मल प्रयोग गर्नु हुँदैन। चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो। जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन्। एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन्। “छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,” उनले भने।
‘गाउँले एफएम दाइ’
विस २०५८ तिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो। पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उनकै दैनिकजस्तै थियो। त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो। समाचारप्रति स्थानीयको चासो बढी थियो। रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छरछिमेकी बताउँछन्।
“आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थेँ, बिबिसी सुनेर विश्वका घटना पनि ज्ञान लिन्थे। त्यहीबेला माओवादीकै ‘रिवल’ले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिएछन्, अहिले नगेन्द्र नामले होइन। उनी गाउँले एफएम दाइ नामले परिचित छन्।
खड्का लोकगीत र देउडामा रुचि उत्तिकै छ। “विस २०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउनुहुन्थ्यो, त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीतसङ्गीततर्फ लगाव रह्यो।”
देउडा र लोकगीतमा उनको रुचि छ। केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्थे, गाउँथे। गाउँले लवज र प्रष्ट आवाजमा गीत गाउने उनी स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित छ। अझै पनि उनको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ। रेडियो सुन्दै बारीमा काम गर्छन्।
बजार बुझेर उत्पादन गर्दा आम्दानी
बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ। नत्र त्यत्तिकै तरकारी खेर जाने उनको भनाइ छ। विगत सम्झँदै खड्काले भने, “विसं २०७९ वैशाखमा मङ्सिरमा आमचुनाव हुन्छ। चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन भनेर बारीमा तरकारी लगाएँ। मङ्सिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो। निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचे।”
उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको माला समेत लगाइदिएको उनले बताए।
सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैँ फलाउँछन्। “हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु। विसं २०८० फागुन–चैतमा मात्र २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरेँ,” उनले भने, “म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ।”
ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेँडा तयार छन्। एउटा बोटमा तीनचार केजीसम्म गोलभेँडा फलेको खड्काले बताए। उनले भने, “भर्खरै मात्र दुई हजार पाँच रूपैयाँमा टमाटर बेचेर आएँ। अर्गानिक टमाटर हो यो, ६० रूपैयाँ केजीमा बिक्री भइरहेको छ।”
कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउँछन्। मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन। उनले भने, “अर्गानिक मल नै फालाफाल छ। बजारिया मल किन किन्नु, माटो बिगार्छ।”
परम्परागत रूपमा खेती गर्दै आएका खड्काले अहिलेसम्म गैरसरकारी सङ्घसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान वा पाएका छैनन्। मैले मेहनतले नै पुरस्कार पाएँ। उनका अनुसार राज्यले दिने करोडौँ अनुदान झोलामै तरकारी फलाउने र झोलामै बाख्रापालन गर्ने बिचौलियाले पाउँछन्। हामी जस्ता किसानले सरकारले दिने अनुदान पाए अधिकांश मानिस गाउँमै स्वरोजगार हुने थिए।
तरकारी खेतीका लागि खड्कालाई सिँचाइको समस्या छ। एकपटक सेवक नामक संस्थाले उनलाई पाल दिएको थियो। पालको छानो राखी उनले बारीनजिकै पोखरी बनाएका छन्। वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ।
कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्छन्। कसरी फलाउने भन्नेबारे अध्ययन गर्ने खड्काले चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार पाएका थिए।
हरेक मानिसका आआफ्ना सौख हुन्छन्। ती सौख पूरा गर्न मानिस लागिपरिरहेका हुन्छन्। कुनैबेला रेडियोप्रेमी खड्का आजभोलि टिकटकतिर मोडिएका छन्। कृषिबारे जानकारीमूलक भिडियो बनाएर उनले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्छन्।
प्रकाशित: ७ मंसिर २०८१ ११:१२ शुक्रबार