४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘पोखरा महानगरमा आफूखुसी कर्मचारी भर्ना गर्न बन्द गरियोस्’

पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनहरुले आफूखुसी करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्न माग गरेका छन्।

महानगरका कर्मचारी संघ संगठनहरुले आइतबार संयुक्त रुपमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यलाई २९ बुँदे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

ज्ञापन पत्रमा भनिएको छ,‘ पोखरा महानगरपालिकाको कार्यालयमा हालसम्म पनि आफूखुसी करार/सेवा करार/ज्यालादारीमा कर्मचारी नियुक्ति गर्ने प्रक्रिया निरन्तर जारी रहेकोले उक्त कार्य तत्काल रोकिनुपर्छ।’ साथै करारका कर्मचारीलाई ६/६ महिनामा म्याद थप गर्दा अन्योल हुने भएकाले म्याद सकिन १५ दिन अगाडि नै म्याद थप सम्बन्धी निर्णय गर्न पनि माग गरिएको छ।उनीहरुले करारका कर्मचारीहरूले खाइपाइ आएको तलब, भत्तासमेत महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएकाले सो बेरुजु फर्छ्यौटका लागि पहल गर्न माग गरेका छन्।

साथै कर्मचारी संघसंगठनहरुले हालसम्म कार्यरत कर्मचारीलाई अन्तिम पटक उमेर हद नतोकी स्थायी प्रक्रियामा सहभागी हुने मौका दिन पनि माग गरेका छन्।उनीहरुले भनेका छन्,‘करारको विकल्प नयाँ कर्मचारी करारमा भर्ना हुनै सक्दैन, तसर्थ हाल करार, सेवा करार, अस्थायी, ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई एक पटकको लागी उमेरको हद नतोकी स्थायी गर्ने प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था हुनुपर्छ।’ साथै स्थायी हुन नसक्ने कर्मचारीहरूलाई सुविधासहित सम्मानजनक बिदाइको व्यवस्था गर्न माग गरेका छन्। उनीहरुले हाल करारमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको नियुक्ती मितिसहितको श्वेतपत्र जारी गर्न पनि माग गरेका छन्।

कर्मचारी संघ संठनहरुले स्वीकृत दरबन्दी बाहेकको पद÷तहमा प्रदेश लोक सेवा आयोगमा माग आकृति फाराम भरी स्थायी पदपूर्तिको लागि लेखि पठाउने र स्थायी पदपूर्ति गराउने कार्यमा संलग्न जिम्मेवार कर्मचारीलाई नियमानुसार कारबाहीको माग गरेका छन्।उनीहरुले अन्यत्र पालिकाबाट प्रदेश सरकार मार्फत महानगरपालिकामा सरुवा भई आउनको लागि सहमति नदिने निर्णय नगर कार्यपालिकाको २५ औँ बैठकले गरेको भए पनि त्यसको उलङ्घन भएकोप्रति ध्यानाकर्षण गराएका छन्।महानगरको सो निर्णय विपरीत पूर्वाग्रह तरिकाले राजनीतिक आस्थाका आधारमा कसैलाई सहमति दिने त कसैलाई नदिने कार्य हुँदै आएकाले सो कार्य तत्काल रोक्न उनीहरुले माग गरेका छन्।

कर्मचारी संघ संगठनहरुले केही रिक्त पदहरूमा समन्वयको अभावका कारण स्थायी पदपूर्ति र सरुवामार्फत एकै पदमा दोहोरो तरिकाले कर्मचारी पठाउँदा एकभन्दा बढी कर्मचारी हुने अवस्था सिर्जना भएको बताएका छन्। त्यस्तो अवस्थाका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकास र सेवाको सुरक्षामा अनिश्चितता पैदा भएकोले कानुनमा भएको व्यवस्था विपरीतको कार्य तत्काल रोक्न ज्ञापन पत्रमा माग गरिएको छ। साथै त्यसरी नियुक्ति भएका कर्मचारीहरूको सेवा, सुविधा वृत्ति विकास र सेवाको सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरिएको छ।

कर्मचारी संघ संगठनहरुले राज्य पुनः संरचना पश्चात् हालसम्म पनि पोखरा महानगरपालिकाको कार्यालय, विभिन्न महाशाखाहरू, शाखाहरू, वडा कार्यालयहरू, सेवा केन्द्रहरू, अस्पताल तथा स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन नसकिरहेको भन्दै सरोकारवालाहरूको अर्थपूर्ण संलग्नता र सहभागितामा तत्काल पूर्ण रुपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीहरूको दरबन्दी यकिन गरि पदपूर्ति गर्न पनि माग गरेका छन्।

उनीहरुले महानगरका सम्पूर्ण प्राविधिक कर्मचारीहरूलाई ग्रेड पाउने व्यवस्था गर्न, स्वास्थ्य सेवा र स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको तलब निजामती तथा अन्य सेवाका कर्मचारी सरहको बनाउनुपर्ने, दक्ष जनशक्तिलाई ज्यालादारीमा काम लगाउने कार्य पूर्ण रुपमा बन्द गरिनुपर्ने, महानगरका विभिन्न विभाग तथा कार्यालयमा जिम्मेवारी तोक्दा पहुँच वा आग्रह, पूर्वाग्रहका आधारमा नभई कर्मचारीको मर्यादाक्रममा असर नपर्ने गरी योग्यता, क्षमता र कार्यकक्षताका आधारमा गर्न माग गरिएको छ।

ज्ञापन पत्रमा भनिएको छ,‘ पोखरा महानगरपालिकाको कार्यालय र अन्तर्गतका महाशाखाहरू, शाखाहरू, इकाईहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरूमा कार्य जिम्मेवारी तोक्दा कर्मचारीको मर्यादाक्रममा असर नपर्ने गरी कर्मचारीको ‘राइट पिपुल राइट प्लेस’ कायम हुने गरी जिम्मेवारी तोकिनुपर्छ।’

यसै गरी उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र पदीय जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने व्यवस्था गर्न पनि महानगरपालिकासँग माग गर्दै ज्ञापन पत्र बुझाएको पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन समन्वय समिति अध्यक्ष हरिलाल आचार्यले जानकारी दिए।

ज्ञापन पत्रमा महानगर स्थानीय तह कर्मचारी संगठन समन्वय समितिका अध्यक्ष हरिलाल आचार्य, स्थानीय तह कर्मचारी संघ नेपाल पोखरा महानगर समिति अध्यक्ष रेशम जि.सी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पोखरा महानगर समिति अध्यक्ष अर्जुन खत्री, नेपाल निजामती कर्मचारी संगठन पोखरा महानगर अध्यक्ष बेलकुमारी गुरुङले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २ मंसिर २०८१ १९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App