जुम्लाको चन्दननाथ नगरपालिका-४ भारतीबाडाकी राईदेवी कार्कीलाई यति बेला सयपत्रीको माला बेच्न भ्याइनभ्याइ छ। उनी बिहानदेखि साँझसम्म माला उन्दै बस्छिन्। छोरा , नातिनातीनहरुको सहयोग लिएर घरमा माला उन्दै दैनिकी चलिरहेको छ। उनले शुक्रबार मात्रै ६० देखि ७० वटा मालाको अडर आइसकेको बताइन्। प्रति माला एक सय रुपैयाँमा घरबाट बिक्री गरिरहेकी छिन्। अहिले १ सय भन्दा बढी मालाहरू निर्माण गरिएको बताइन्।
बिहीबारदेखि उनी सयपत्रीको माला बनाउन व्यस्त छिन्। गत वर्षको तिहारमा २ दुई सय बढी माला उनले घरबाटै बेचेको थिइन्। यो वर्ष पाँच सय बढी माला बेच्ने लक्ष्य उनको छ। उनले एक रोपनी जग्गामा सयपत्री फूल खेती गरेकी थिइन्।
यस्तै अर्की चन्दननाथ नगरपालिका-७ तली महतगाउँकी कृष्णा अधिकारीलाई पनि जुम्लाको सदरमुकाम खलंगा बजार डोको डुलाएर सयपत्रीको माला बेच्न भ्याइनभ्याइ छ। घरबाट उनले चार सय माला बनाएर सदरमुकाम खलंगामा बिक्री गर्न पुगेको बताइन्। दुई सय बढी माला बेचिसकेको उनी बताउँछिन्। अन्य आयातित प्लास्टिकका माला भन्दा स्थानीय सयपत्रीको माला स्थानीयको आकर्षण बढ्दै गएको कृष्णा बताउँछिन्। उनले अघिल्लो वर्ष मात्रै तिन हजारका माला बिक्री गरेको बताइन्। यो वर्ष पनि ५र६ हजार बढीका माला बेच्ने उनको भनाइ छ।
उनले दुई रोपनी आफ्नो जग्गामा फुल खेती गरिरहेकी छन्।उनले तिहारलाई लक्षित गरी उनीहरूले फूल खेती गरेको बताइन्। जिल्लाको पातारासी, गुठिचौर,चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा किसानहरूले सयपत्री खेती गरिरहेका छन्। दुर्गम बस्तीहरूमा त भाइटिकामा आफूलाई चाहिने जतिको फूल खेती गरिरहेका छन्।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका तथ्याङ्क हेर्दा कुल १९ हजार घरधुरीमा ६ हजार घर करेसाबारीको रूपमा पुष्प खेती भइरहेको छ।
प्रकाशित: १६ कार्तिक २०८१ १९:४६ शुक्रबार