९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

सिस्नेरीमा मृत्यु भएका बाल फुटबल खेलाडीका पीडित परिवारले भेटे प्रधानमन्त्रीलाई

बाढी, पहिरोमा परी मृत्यु भएका फुटबलका बाल खेलाडीका परिवारले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित विद्यालयको होस्टेलमा रहेका बेला आएको बाढीमा भाग्ने क्रममा उनीहरुको मृत्यु भएको थियो। 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरी  स्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्। 

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापरवाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्। 

पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाए। भेटका अवसरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी,नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए।

प्रकाशित: ९ कार्तिक २०८१ १३:३५ शुक्रबार

#pm kp oli #sisneri