२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीयले मर्मत गरेपछि भडारेघाटको झोलुङ्गे पुल सञ्चालन

गत १२ गते रातिको बाढीले बगाएको उदयपुर र खोटाङबीच सुन नदीका आधादर्जन झोलुङ्गेमध्ये भडारेघाटको पुल मर्मतपछि सञ्चालनमा आएको छ।

उदयपुरतर्फ लिमचुङबुङ र रौतामाई गाउँपालिका सीमाना र खोटाङतर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने भडारेघाटस्थित झोलुङ्गे पुल मर्मतपछि नवमीका दिनदेखि सुचारु भएको हो।

गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग सोझो यातायात जोड्ने फोक्सिन्टारस्थित पक्की मोटरेबल पुलसँगै सुन नदीका आधादर्जन झोलुङ्गे पुल बाढीले एकैदिन बगाएपछि दुई जिल्लाबीच आउजाउ रोकिएको थियो।  

चाडपर्वका बेला टुटेको सम्बन्ध जोड्नका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मर्मत गरेर भडारेघाटको झोलुङ्गे पुल सुचारु गरेको हो। फोक्सिन्टारसँगै अन्य पुलहरु क्षति भएका कारण आउजाउमा समस्या भएकाले तत्काल मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।

उनका अनुसार गाउँपालिकाले डेढला बजेटबाट क्षतिग्रस्त पुलको तारजाली र काठको पटाहा ओछ्याएर पुल मर्मत गरेपछि सञ्चालनमा आएको हो।

अध्यक्ष राईले पक्की पुल तत्काल मर्मत गर्न असंभव भएकाले हाललाई काम चलाउका लागि झोलुङ्गे पुलहरु नै मर्मत गरेर सुचारु गर्न सके पनि उपभोग्य सामग्री आपूर्ति गर्न सहज हुने बताए।

गाउँपालिकाबासी मात्र नभएर सिंगो जिल्लाबासीको दैनिकीसँग जोडिएको फोक्सिङङार पुलसँगै झोलुङ्गे पुलहरु पनि बगाउँदा तराईसँगको सोझो यातायात सम्पर्क विच्छेद भएकाले समस्यामा परेकोअध्यक्ष राईले बताए।

उता नैकु, भाडबेँसी, धाब्लाङ र बंशीलाघाटका पुलहरु पनि मर्मत गर्ने काम भइरहेको छ। ती पुलहरु पनि तिहारअघि नै मर्मत सकेर सुचारु गर्ने योजना रहेको स्थानीयले बताउका छन्। त्रियुगा नगरपालिका १४ र बाराहापोखरी २ सुन्तले जोड्ने धाब्लाङको पुल वारिपारि दुवै जिल्लाका स्थानीय सरकार र नागरिकको सहयोगमा मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भईरहेको छ। धाब्लाङकी स्थानीय मेलिना माझीका अनुसार दसैँमा काम चलाउ पुल चल्ने बनाइएको छ भने अव पूर्णरुपमा मर्मत गरेर तिहारअघि नै मोटरसाईकल चल्न सक्ने बनाइनेछ।

त्यसैगरी वंशीलाघाटको पुल पनि मर्मत गरेर सामान्य आउजाउ गर्न मिल्ने बनाइएको छ। दर्सैअघि सामान्य वारिपारि गर्न मिल्नेगरी मर्मत गरेको स्थानीय सन्तोष राईले बताए। अझै राम्ररी मर्मत गरेर तिहारदेखि मोटरसाईकल चल्ने पहिलाजस्तै बनाउने गरी काम भईरहेको उनले बताए।

अविरल वर्षाको बाढीले फोक्सिन्टारको पक्कीसँगै रसुवाघाटबाहेक आधाददर्जन झोलुङ्गे पुलहरु बगेका थिए। फोक्सिन्टारदेखि पश्चिमतर्फ चनौटे, भाडबेँसी र नैकुबीचका ४ वटा झोलुङ्गे पुलहरु बगाउँदा उदयपुरतर्पm लिमचुङचुङ ५ जाँते, ४ बलम्ता, २ तामलिछा र १ नं. वडा बाँसबोटेसँग खोटाङतर्फ दिप्रुङचुईचुम्मा र हलेसी तुवाचुङ नगरपालिकाको सम्बन्ध विच्छेद भएको हो।

यता फोक्सिन्टारदेखि पूर्वतर्फका धाब्लाङ र वंशीलाघाटका दुवै झोलुङ्गे पुलहरु पनि सोही दिनको बाढीले क्षतिग्रस्त बनाएर आउजाउ रोकिदा उदयपुरको त्रियुगा नगरपालिका १४, १५ नं. वडाका साउने र खाँबु तथा चौदण्डीगढी नगरपालिकाका र खोटाङतर्फ बाराहापोखरी, जन्तेढुङ्गा गाउँपालिका तथा भोजपुरसँगको सामिप्यता पूर्णरुपमा रोकिएको हो। ती पुलहरु बगेपछि खोटाङबासीलाई राजधानी छिर्न एकमात्र बैकल्पिक नाका उदयपुर र ओखलढुङ्गा सीमा घुर्मी नाका प्रयोग गर्नुपर्ने बाध्यता छ।

राजधानीबाट घुर्मी नाका भएर जिल्लाको त्रिधार्मिकस्थल हलेसी, सदरमुकाम दिक्तेल हुदै भोजपुर जोडिएको पुष्पलाल मध्येपहाडी लोकमार्ग एउटा मात्र सहज नाका बाँकी रहेकाले सोही बाटोको उपयोग अहिले भइरहेको छ।

सबै तिरको पुल बाढीले क्षति गरेको र पहिलाजस्तो डुङ्गा पनि नभएकाले नदी किनार आसपासबासी र अन्य यात्रुलाई वारपार गर्न नसक्दा समस्या उत्पन्न भएकाले झोलुङ्गे पुल तत्काल मर्मत गर्नुको विकल्प छैन। खोटाङबासीलाई ती पुल तरेर उदयपुर हुँदै धरान, विराटनगर, राजविराज, लहान, नजकपुरजस्ता तराईका विभिन्न जिल्लाका सहर बजार जान आउन सहज थियो। गाईघाट दिक्तेल सडकको पुल नै बगेपछि वैकल्पि यात्राका लागि सो पुल मर्मत गरेर सञ्चालनमा ल्याउनु परेको हो।

त्यसैगरी उदयपुरलाई जन्तेढुङ्गा गाउँपालिका १ रमितेसँग जोड्ने मैनाटार पुल, खोटाङकै ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीर उदयपुर जोड्ने कम्फुघाट पुल, हलेसी तुवाचुङसँग जोडिएको नैकु र भाडबेँसीका झोलुङ्गे पुलहरुको पनि मर्मत कार्य तिब्ररुपमा भइरहेको स्थानीयले बताएका छन्। दसैँमा गाह्रो साँघुरो भए पनि तिहारसम्ममा सहज रुपमा आउजाउ गर्न पुलहरु मर्मत कार्य भईरहेको हो। 

प्रकाशित: २६ आश्विन २०८१ १६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App