९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

यातायात समितिकाे विवादले सुर्खेत बसपार्कमा तनाव, तीन जना प्रहरी नियन्त्रणमा

सुर्खेत बसपार्कमा यात्रु तानातान हुन थालेपछि खटिएका प्रहरीहरू। तस्बिर: गोविन्द केसी/नागरिक

संयुक्त यातायात समितिमा आबद्ध नौ वटा समितिहरू अलगअलग आएपछि सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयमा विवाद भएको छ। आफ्ना समितिका गाडीहरूले यात्रु हाल्न पाउनुपर्छ भन्दै यात्रु खोस्न जाँदा बसपार्क तनावग्रस्त बनेको हो।

बुधबार बिहानैदेखि बाक्लो संख्यामा बसपार्क शान्त बनाउन प्रहरी खटिए पनि समितिबिचको द्वन्द्वले यात्रुहरू तानातान गर्न छाडेनन्। जसका कारण प्रहरीले विभिन्न समितिका ३ जनालाई नियन्त्रणमा लिएको छ। यसअघि संयुक्त यातायातसँग पिल्सा र भिजिट कर्णाली यातायातका गाडीहरू प्रतिस्पर्धा गरेका थिए। संयुक्तमा रहेका नौ वटा समिति नै मंगलबार दिउँसोबाट अलग भएको घोषणा गरेका थिए।

बसपार्कमा सबै समितिले अस्तव्यस्त रुपमा गाडी एकै पटक छुटाउँदा बसपार्क अगाडीको फेरलेन सडक नै जाम हुने गरेको छ। यात्रुहरूलाई छानेर स्वतन्त्र पूर्वक गाडी चढ्ने वातावरण हुनुपर्ने पिल्सा पब्लिक यातायात प्रा.लीका अध्यक्ष उपेन्द्र शाहीले बताए। बसपार्क पुग्ने यात्रुहरूलाई तानातान गर्ने प्रवृद्धि रोकिनुपर्ने उनले बताए।

बसपार्क पुगेका यात्रुलाई दुई यातायात समितिमा आबद्ध सहचालक, कर्मचारीहरूले आफ्नो गाडीमा चढाउन हिजोआज दिनहुँ तानातान हुने गरेको छ। पिल्सा यातायात प्रा.ली. र संयुक्त यातायातबाट छुट्ने गाडीमा चढ्न यात्रुहरूले सास्ती खेप्नु परेको हो। 

संकेतिक रुपमा बसपार्कबाट बुधवार ३ जनालाई पक्राउ गरेको र बसपार्कभित्र यात्रुमाथि कुनै पनि अमानवीय घटना घटे तत्काल कारबाही गरिने सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले बताए। उनले भने, 'यात्रुमाथि जबरजस्ती गर्न खोज्नेहरूलाई नछाडिने बताएको छ। लामो समयदेखि सुर्खेत बसपार्कमा यात्रु हाल्ने विषयमा विवाद भइरहँदा स्थानीय प्रशासनले शान्त बनाउनका लागि ठोस कदम चालेको पाइएको छैन।' 

प्रकाशित: ९ आश्विन २०८१ १२:५६ बुधबार

#Surkhet Buspark