६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिकाले छात्रवृत्ति दिएकाे विद्यार्थीलाई कम्तीमा एक वर्ष जागिर दिने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आफैंले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएका विद्यार्थीलाई कम्तीमा एकवर्षसम्म गाउँपालिकामै जागिर दिने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार पालिकाको छात्रवृत्तिमार्फत प्राविधिक शिक्षा(प्रवीणता प्रमाण–पत्र तह वा सो सरह)को अध्ययन पूरा गरेकालाई करार सेवामा लिई काममा खटाइने छ।

सिरिजङ्गा गाउँ कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय अनुसार पालिकाको छात्रवृत्तिमार्फत प्राविधिक शिक्षा पूरा गरेका बिद्यार्थीहरुले पालिकामा आवेदन दिनुपर्ने हुन्छ। पालिकाले आवेदकलाई नेपाली नागरिकताको प्रमाण–पत्र प्रतिलिपि,शैक्षिक योग्यताका सम्पूर्ण सक्कल कागजात,आवेदकको सम्बन्धित वडाको सिफारिस र प्राविधिक शिक्षा अध्ययन सुरु गर्नु पूर्व गाउँ कार्यपालिकाको कार्यालयसँग गरिएको कबुलियतनामा माग गरेको छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार छनौट भएकालाई कम्तीमा एकबर्ष सम्म नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिइने छ। ८ वटा वडा रहेको सिरिजङ्गाले सामुदायिक विद्यालयबाट एसइई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने प्रत्येक वडाका एक–एक जना विद्यार्थीलाई प्रत्येक वर्ष प्राविधिक विद्या (प्रवीणता प्रमाण–पत्र तह वा सो सरह)को अध्यापन गराउने गरी छात्रवृत्ति सम्बन्धी ऐन २०७८ जारी गरेको छ। सो ऐनको परिच्छेद–६ मा प्राविधिक शिक्षा छात्रवृत्ति सम्बन्धी व्यवस्था छ। 

ऐन अनुसार गाउँपालिका क्षेत्र भित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी पालिकाले आवास सहितको छात्रवृत्ति उपलब्ध गराउने भनिएको छ। सो ऐनको परिच्छेद– ६ नं १० मा छात्रवृत्तिमा छनौट भएको विद्यार्थीले अध्ययन सम्पन्न भएपश्चात जुन वडाबाट छात्रवृत्ति प्राप्त गरी अध्ययनमा गएको हो,सोही वडामा कम्तीमा एकबर्ष सम्म अनिवार्य सेवा गर्ने गरी अनिवार्य कबुलियतनामा गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार पालिकाको छात्रवृत्ति पाएर अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई गाउँमै रोजगारीको अवसर दिइन लागेको गाउँपालिकाले जनाएको छ। 

प्रकाशित: ६ आश्विन २०८१ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App