६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जब मूर्तिले बोके बच्चा

यस्ताे पनि!

केही साताअघि बेलायतको राजधानी लन्डनका केही चर्चित मूर्तिहरूले अचानक बच्चा बोकेको देखिन थाले। यस्तो घटनाका पछाडि के कारण रहेछ भन्ने पछि मात्र खुल्यो र कारण थियो, सन्तान हुर्काउन अप्ठेरो महसुस गरिरहेका बुवाहरूको अभियान। द ड्याड सिफ्ट नामक अभियानले नक्कली बच्चा बनायो र विभिन्न मूर्तिहरूलाई बोकाइदियो।

अभियानका अगुवा इसामबार्ड किङडम ब्रुनेलले सानो नक्कली बच्चालाई विभिन्न मूर्तिहरूमा बेरिदिएका थिए। गुजाराका लागि बाउआमा नै काममा जानु पर्ने भएकाले सन्तान जन्माइसकेपछि दुवैलाई अप्ठेरो परेको जनाउन यस्तो अभियान चलाएको इसामबार्डले जनाएका छन्।

त्यसो त कुनै पनि कार्यालयले प्यारेन्टल लिभ (बिदा) भनेर महिलाहरूलाई छोटो बिदा दिने गरेको छ। छोटो बिदाले मात्र तिनलाई उचित लालनपालन गर्न नसकिने भन्दै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षणका लागि यो अभियान चलाइएको हो। अभियानलाई कलाकारहरू लरेन्स ओलिभर र जिन केली मात्र होइन, थिएरी हेनरी र टोनी एडम्सजस्ता खेलाडीले समेत समर्थन गरेका छन्।

पितालाई समेत कार्यालयले बिदा दिएको खण्डमा सन्तान र तिनका बाबुबीचको आत्मियता बढ्ने भन्दै यस्तो बिदाको सेलिब्रिटीहरूले समेत माग गरेका छन्। यूरोपभरिमा सबैभन्दा कम लालनपालन बिदा बेलायतमा छ।

जम्माजम्मी दुई साताको यस्तो बिदामा लगभग साढे तीन सय यूरो दिइन्छ। यति कम पैसा पाइने भएकाले बेलायती बाबुहरूले आफ्ना सन्तान जन्मिएपछि पाउने ‘बाउ बिदा’ नै नलिने गरेको पाइएको छ।

झन्, एउटा सन्तान पहिल्यै जन्मिएका छन् भने त दोस्रो सन्तान हुर्काउन पर्ने दबाबका कारण उनीहरूले कार्यालयबाट लिन पाउने बिदाहरू नै कम लिने गरेको देखिएको छ। त्यसैले यस्तो अभियानका अगुवाहरूले अगस्त महिनामा सांसदहरूलाई खुला पत्र लेख्दै गम्भीर हुन आग्रह गरेका थिए।

हालै गरिएको एउटा सर्भेमा आफ्ना सन्तान हुर्काउन र हुर्किएको देख्न चाहनेको संख्या ९० प्रतिशत रहेको छ। बच्चासँग खेल्दै काम गर्न पाए गज्जब हुने उनीहरूको तर्क थियो। लेबर पार्टी सत्तामा आएपछि बाउ बिदामा ध्यान दिइने समेत चुनावअघिको वाचा स्मरण गराउँदै अभियानले गम्भीर हुन आग्रह गरेको हो।

आग्रहले काम नगरेपछि ‘द ड्याड सिफ्ट’का संस्थापकहरू जर्ज गाब्रियल र एलेक्स लोयड हन्टरले लन्डनका केन्द्रीय भागमा रहेका विभिन्न पुरूषहरूको मूर्तिमा बच्चा टाँसिदिएका हुन्। मूर्तिले बच्चा बोकेका तस्वीरहरू यतिबेला भाइरल मात्र भएका छैनन्, यसमा सबैको ध्यानाकर्षणसमेत भएको छ।

प्रकाशित: ६ आश्विन २०८१ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App