६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तिलौराकोटदेखि लुम्बिनीसम्म ‘शान्ति पदयात्रा’

सन्दर्भ : विश्वशान्ति दिवस

विश्वशान्ति दिवसको अवसरमा प्राचीन कपिलवस्तुको क्रीडास्थल तिलौराकोटदेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्म बोधीवृक्ष करिडोर पदयात्रा सुरु गरिएको छ। बुद्धस्थल भारतको बोधगया तथा नेपालस्थित तिलौराकोट र लुम्बिनीलाई जोडेर आध्यात्मिक, धार्मिक र मानव स्वास्थ्यका लागि बहुउपयोगी पिपल निम र तुलसीको बिरुवा रोप्दै यात्रा शुभारम्भ  गरिएको हो।

तिलौराकोटबाट सुरु पदयात्रा लुम्बिनीसम्म २८ किलोमिटरको हुने आयोजक पिपल, निम र तुलसी अभियान भारतको पटना तथा जनकपुरधाम प्राविधिक समाजले जनाएको छ। दुई दिनमा २८ किलोमिटर यात्रा गर्दै लुम्बिनी पुगेर पदयात्रा सकिनेछ। बाटोमा पर्ने विद्यालय, स्वास्थ्य संस्था, सामाजिक संस्था र कार्यालयपरिसर र हातामा पिपल, निम र तुलसीका बिरुवा रोप्दै पदयात्रा अघि बढ्ने समाजका अध्यक्ष राकेश कर्णले बताए।

पहिलो दिन कपिलवस्तुको पकडीमा बास बस्ने कार्यक्रम छ। पिपल, निम र तुलसी अभियान पटना भारतका डा. धर्मेन्द्र कुमारको नेतृत्वमा रहेको पदयात्रामा भारतका बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, हरियाणा, उडिसा र हिमाचल प्रदेशका १५ जना सहभागी छन्। पिपलको बिरुवा कपिलवस्तु संग्रहालयको हाताभित्र रोप्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले यात्राको शुभारम्भ गरेका थिए।

यात्राको विषयमा तिलौराकोटमा आयोजित कार्यक्रममा प्रदेश सदस्य सुधाकर पाण्डेयले यो यात्रा धार्मिक र वातावरणीय हिसाबले समेत महत्त्वपूर्ण रहेको बताए। उनले अभियानलाई सबैले साथ दिनुपर्ने बताए।

भारतको बोधगया र नेपालको तिलौराकोट तथा लुम्बिनीलाई आपसमा जोड्न र वातावरणलाई शान्तमय बनाउन पदयात्रा चलाइएको डा. धर्मेन्द्र कुमारले बताए। बुद्धले बोधगयामा रहेको पिपलको बोटमा ध्यान गरेर ज्ञान प्राप्ति गरकाले पनि पिपलका बोट निकै महत्त्वपूर्ण रहेको उनले बताए। पिपलको महत्त्व धार्मिक दृष्टिले मात्रै नभएर ज्योतिष, आयुर्वेद एवं वैज्ञानिक दृष्टिले समेत महत्त्वपूर्ण रहेको उनले जनाए।

त्यस्तै आयुर्वेदिक गुणले भरिपूर्ण निम स्वास्थ्यवर्धक जडीबुटी हो। निमको रुखका हरेक भाग औषधिका रूपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ। यसको बोक्रा, जरा, पातआदिबाट औषधि बनाइन्छ। त्यस्तै तुलसी पनि धार्मिक अनि सांस्कृतिक मात्र नभई स्वास्थका दृष्टिले पनि उपयोगी मानिन्छ।

कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, समाजका महासचिव सुरेश शर्मालगायतले पदयात्रामा सरिक हुन आग्रह गरेका थिए। पदयात्रामा तिलौराकोट साझेदारी वन डिभिजन वन कार्यालय कपिलवस्तुलगायत सरकारी कार्यालयसमेत जोडिएका छन्।

प्रकाशित: ६ आश्विन २०८१ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App