२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वन नजिकैको गाउँलाई जोगाउन तारजाली

फाइल तस्बिर

वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ।

मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन बाँकेका तीन सामुदायिक वनमा उक्त तार जाली लगाइएको हो।

शमशेरगञ्ज सब डिभिजन वन कार्यलयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जिल्लाको राप्तीसोनारी गाउँपालिकामा रहेका अशोक सामुदायिक वन उपभोक्ता समूह, जनकल्याण सामुदायिक वन उपभोक्ता समूह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहमा तार जाली लगाइएको जानकारी दिए।

'वनसँग जोडिएका धेरै गाउँ छन्, तर अहिले चार गाउँलाई ध्यान दिएर तारजाली गरेका हौं, बजेट थप भएपछि अझै विस्तार गरिनेछ', उनले भने। जनमुखी सामुदायिक वनको तीनतर्फ वन भएको र बीचमा गाउँ रहेको उल्लेख गर्दै सुवेदीले सो स्थानमा बदेलको आतङ्क रहेको उनले जानकारी दिए।

वन अधिकृत सुवेदीले बाँके राष्ट्रिय निकुञ्ज नजिकका तीन सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्ग अन्तर्गतका मानव बस्तीका चार सयभन्दा बढी घरधुरी लाभान्वित हुने गरी तारजाली लगाइएको बताए। तीन सामुदायिक वनका वन क्षेत्र र बस्तीबीच तीन हजार आठ सय ५० मिटर लम्बाइ रहेको तारजाली जडान गरिएको उनले उल्लेख गरे। त्यसबाट चार सय ६७ स्थानीय घरधुरी लाभान्वित भएको वन अधिकृत सुवेदीको भनाइ छ।

तारजाली जडान कार्यक्रमअन्तर्गत राप्तीसोनारी–२ टिकुलीपुरस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहमा एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम) सँगको समन्वयमा एक हजार पाँच सय मिटर तारजाली जडान गरिएको छ। रु १८ लाख ७८ हजार तीन सय ४० इलम र रु छ लाख ७० हजार दुई सय ८९ समूहको गरी कुल रु २५ लाख ४८ हजार छ सय २९ को लागतमा उक्त तारजाली निर्माण गरिएको उनले बताए।

त्यसैगरी राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहमा पनि इलमको सहकार्यमा तारजाली जडान गरिएको छ। सो वन समूहमा एक हजार पाँच सय मिटर लामो तारजाली जडान गरिएको छ। त्यसबाट एक सय ३२ घरधुरी लाभान्वित भएका छन्। इलमको रु १२ लाख २० हजार नौ सय ७६ र समुहको रु नौ लाख ५९ हजार तीन सय ३७ गरी कुल रु २१ लाख ८० हजार तीन सय १३ लागतमा तारजाली निर्माण भएको वन अधिकृत सुवेदीले उल्लेख गरे।

अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारुले तारजाली निर्माण भइसकेपछि स्थानीय पनि सुरक्षित भएको र बालीसमेत ढुक्कसँग भित्र्याउन पाएकामा खुशी व्यक्त गरे। उनले तारजाली हुनुभन्दा पहिले बाघ, बँदेल, स्याल तथा वनबिरालो लगायतका जनावरबाट क्षति व्यवहोर्नुपरेकाले अहिले त्यसबाट छुटकारा मिलेको बताए।  

प्रकाशित: ३० भाद्र २०८१ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App