२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

जुवा खालबाट गाउँपालिका पूर्वअध्यक्षसहित ९ जना प्रहरी नियन्त्रणमा

मोरङको ग्रामथान गाउँपालिका–४ कटहराको बाँसघारीभित्र सञ्चालित जुवा खालबाट पूर्व अध्यक्षसहित ९ जना प्रक्राउ परेका छन्।

शुक्रबार राति ८ बजेतिर प्रहरीले छापा हान्दा गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन्।

उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा खालबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमध्ये शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। पक्राउ पर्ने अन्य व्यक्ति पनि व्यापार, व्यवसायी र धनाड्यहरु रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र मतहातका कार्यालयको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो।

जुवा खालबाट पक्राउ परेकाको साथबाट साढे १८ लाख रूपैयाँभन्दा बढी नगद बरामद भएको छ। उक्त ‘बाह्रमासे’ खालमा मधेस प्रदेशको महोत्तरी, धरान, दमक, दुहबीलगायतका स्थानबाट जुवा खेल्न आउने गरेको खुलेको छ।

लामो समयदेखि जुवा खाल चलिरहेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्लाको संयुक्र टोलीले खालमा छापा हाने बताउँदै, एसपी कार्कीले भने, ‘जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ। जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको छ।’

पक्राउकालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ।

यो जुवा खाल ‘बाह्रमासे’ अड्डाका नामबाट प्रख्यात रहेको छ। जुवा खाल कसले सञ्चालन गरेको थियो भनेर यकिन भइसकेको छैन। यसअघि पनि प्रहरीले जुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो। जुवा खाल सञ्चालकले बजारलगायतका विभिन्न स्थानमा पैसा दिएर निगरानीमा खटिएका व्यक्तिहरुले प्रहरी आएको सूचना दिनासाथ खाल उठाएर जुवाडेहरु फरार हुने गरेको प्रहरीले जनाएको छ।

शनिबार राति भने अर्कै बाटो प्रयोग गरेर पुगेको प्रहरी टोली छापा हानेर जुवा खेलिरहेकाहरुलाई ठूलो रकमसहित पक्राउ गर्न सफल भएको एसपी कार्कीले बताए। छापा हान्ने क्रममा त्यहाँ रहेका केही व्यक्ति भाग्न सफल भएको उनले भने। 

प्रकाशित: ३० भाद्र २०८१ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App