३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

'सुरुमा मैले विष सेवन गरे अनि छोरीहरूलाई खुवाएँ'

आफ्ना २ जना नाबालिका छोरीहरूको हत्या गरी फरार भएकी अस्मिता पौडेल (आमा)लाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का नारायण न्यौपानेले लगाएको केरा बगानभित्र नाबालिकाद्वयको शव भेटिएको थियो।

केरा बगानभित्र भेटिएका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीलाई आफ्नी आमा २१ वर्षीया अस्मिता पौडेलले विष सेवन गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए। दुई नाबालिकाको शव भेटिए पनि आमा अस्मिता भने फरार भएकी थिइन्। फरार भएकी अस्मिताको खोजी गर्दै गर्दा घटना भएको ५ दिनमा उनी पक्राउ परेकी हुन्।

अस्मितालाई प्रहरीले झापाको बिर्तामोडमा बुधबार बिहान अस्वास्थ्य अवस्थामा फेला पारी विराटनगर ल्याएको थियो। विराटनगर ल्याएपछि सुरुवातमा उनको स्वास्थ्य अवस्था कमजोर देखेपछि उपचारका लागि कोशी अस्पताल लगेको एसपी कार्कीले बताए। 

धनकुटाको पाख्रिबास नगरपालिका– ५ घर भई सुन्दरहरैँचा नगरपालिका–७ मालती टोलमा ३१ वर्षीय अर्जुन कार्की, २१ की अस्मिता पौडेल, छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा बस्दै आएका थिए। उनीहरु बसेको नजिकै नयाँ घर बनाउँदै थिए। 

शुक्रबार साँझ पती–पत्नीबिच निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि अस्मिताले दुई छोरीलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, एसपी कार्कीले भने, ‘श्रीमानश्रीमतीबीच विवाद भएपछि श्रीमान् खाना बनाउन जान्छन्। अस्मिता दुई छोरीलाई लिएर घरबाट निस्कन्छिन् । खाना बनाएपछि श्रीमतीलाई बोलाउँदा आमाछोरी घरमा हुँदैनन्। घरमा नभएपछि उसहित छरछिमेक खोज्न थाल्छन् र शनिबार दिउँसो केरा बगानभित्र शव फेला पर्छ।’

घटनास्थलमा दिदीले बहिनीलाई अँगालो हालेर सुते जस्तै गरेको अवस्था शव भेटिएको थियो । शव फेला परे पनि अस्मिता सम्पर्कविहीन भएकी थिइन्। उनको खोजी गर्ने क्रममा बुधबार झापामा फेला परिन्। बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टासमेत फेला परेको थियो।

नाबालिकाको शरीरमा बाहिरी चोट देखिँदैन थियो। घटना प्रकृति हेर्दा विष खुवाएर हत्या गरे जस्तो देखिएको बताउँदै, एसपी कार्कीले भने, ‘हाम्रो शंका पनि आमाले विष खुवाएर हत्या गरेको हुनुपर्छ भन्ने थियो। आमा अस्मितालाई पक्राउ गरेपछि प्रारम्भिक सोधपुछका क्रममा उनैले दुवै छोरीलाई विष खुवाएको स्वीकार गरिन्। सुरुमा आफूले विष सेवन गरेको र त्यसपछि छोरीहरूलाई विष खुवाए हिँडेको बताइन्।’ यसअघि पनि श्रीमान् श्रीमतीबिच घरायसी कुरामा विवाद हुने गरेको खुलेको उनले बताए। पक्राउ परेकी अस्मिताले आफूलाई श्रीमानले धेरै टचर दिने गरेका कारण घरबाट हिँडेको र छोरीहरूको हत्या गरेको बताए, बताइएको छ।

शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट आएपछि थप कुरा बाहिर आउने छ। ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको एसपी कार्कीले बताए।

प्रकाशित: १९ भाद्र २०८१ १८:२२ बुधबार