१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बाटो मर्मतको माग गर्दै यातायात व्यवसायीद्वारा सिरिजङ्गामा यातायात बन्द

ठूलो खाल्टाखुल्टीका कारण अगाडि जान नसकी सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक नजिक अड्किएका सवारी । तस्बिर : खगेन्द्र अधिकारी/नागरिक

स्थानीय हाइड्रोपावरले सडक मर्मतका लागि गरेको बेवास्ता र ‘दोहोरो सवारी कर’ खारेजीको माग गर्दै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायीले सेवा ठप्प पारेका छन् । माग सम्बोधन नभएसम्म सवारी नचलाउने उनीहरुको घोषणा छ ।  

सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायीहरुको भेलाले गरेको उक्त निर्णय गाउँपालिका समेतलाई जानकारी गराई कार्यान्वयनमा लगिएको स्थानीय व्यवसायी विशाल भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार यो बारेमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समेत बोधार्थ दिईएको छ ।  

दोहारो कर असुलीमा तत्काल रोक लगाउन माग गर्दै यातायात व्यवसायीले आइतबार सिरिजङ्गा गाउँपालिकामा निवेदनसमेत दिएको जनाएका छन् । व्यवसायी भट्टराईले सिरिजङ्गा गाउँपालिकाको सिनाम पञ्चमीमा रहेको सवारी कर असुली केन्द्रमार्फत एउटै सवारीले आउँदा र जाँदा दोहोरो कर तिर्नुपर्ने बाध्यता रहेको सुनाए । ‘हामीले दोहोरो कर सहितका समस्या समाधानका लागि पालिकाको ध्यानाकर्षण गरेका हौं ’ यातायात व्यवसायी भट्टराईले भने ।  

उनका अनुसार सिरिजङ्गा गाउँपालिकाको सिनाम पञ्चमी, डाँडाँगाउँ, खाम्दिने, तेल्लोक हुँदै मामाङ्खेसम्म र खाम्दिनेदेखि हप्पुखोला, बाँकेटार हुँदै याम्फुदिनसम्म जाने सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सिरिजङ्गा गाउँपालिकाका बिभिन्न स्थानमा सञ्चालित हाइड्रोपावर कम्पनीले सामान ढुवानीका क्रममा उल्लेखित सडक खण्ड बिगारेकोले उक्त सडकमा यात्रुवाहक, मालवाहक र एम्बुलेन्स समेत आवतजावत हुन कठिनाई भइरहेको यातायात व्यवसायीहरुको तर्क छ ।  

हाईड्रोपावर कम्पनीका ठूला र वजनदार सवारीको ओहोरदोहोरले बाटो बिग्रिएका कारण बाटो बनाउने दायित्व हाईड्रोपावरकै रहेको व्यवसायीहरुले बताएका छन् । सिरिजङ्गा गाउँपालिकाका २० जना यातायात व्यवसायीहरुको संयुक्त भेलाले दोहोरो कर खारेजी र हाईड्रोपावर कम्पनीमार्फत बाटो मर्मतसम्भारको माग गर्दै यातायात बन्द सहितका आन्दोलनका कार्यक्रम तय भएको सिरिजङ्गाका यातायात व्यवसायीहरुको भनाइ रहेको छ ।

प्रकाशित: १६ भाद्र २०८१ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App