३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा अब माछा जोन

तरकारी, केरा, मौरी र धान जोन रहेको चितवनमा अब माछाको जोन पनि सञ्चालनमा आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लनमा माछा जोन सञ्चालनमा आएको हो।  माडी नगरपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर माछाको जोन स्थापना गरिएको परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख तथा वरिष्ठ अधिकृत महेश रेग्मीले बताए।

उनका अनु्सार, माछाको क्षेत्र विस्तार र उत्पादनलाई उद्योगसंग जोड्ने र किसानलाई व्यवसायीकीकरण गर्ने उद्देश्यले माडीमा जोन स्थापना गरिएको हो। उनका अनुसार, यस बर्ष कार्यालयले मत्स्य पर्यटन प्रबद्र्धन, माछाको उन्नत प्रबिधि प्रबद्र्धन, एकीकृत माछा पालन, नश्ल सुधार, ह्याचरी सुदृढिकरण, पोखरी निर्माण तथा सिचाइँ लगायतका क्षेत्रमा परियोजनाले काम गर्नेछ। यो आर्थिक वर्षमा यी कामका लागि एक करोड १७ लाख बजेट विनियोजन गरेको रेग्मीले जानकारी दिए।

माडी चितवन राष्ट्रिय निकुञ्जले घेरिएको उपत्यका हो। यहाँ निकुञ्जबाट निस्कने जंगली जनावरका कारण बालीनाली नष्ट गर्ने गरेका कारण माछापालनतर्फ किसान आकर्षित छन् । यसैलाई मध्येनजर गर्दै जोन स्थापना गरिएको परियोजनाले जनाएको छ। माडीका सबै वडामा माछापालन हुने गरेको छ। 

यहाँ पाँच सय हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरिएको छ। माडीमा आठ सय हेक्टर क्षेत्रफलमा माछापालनको क्षेत्र बिस्तार गर्ने योजना रहेको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले बताए। कार्यक्रम सञ्चालन गर्नका लागि माडी नगरपालिकासंग समन्वय गरेर कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ।

कार्यक्रम संचालन गर्न माडीमा सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ। जोन कार्यालय संचालनका लागि कोपिला सिवाकोटीको संयोजकत्वमा ९ सदस्सीय मत्स्य जोन सञ्चालक समन्वय समिति गठन गरिएको छ।

यसवर्ष कार्यक्रम संचालनका लागि परियोजनाले किसानहरुलाई सुचिकृतका लागि आव्हान गरेको छ। परियोजनाले माछाको सामुदायिक फिड मिल तथा भण्डारण गृह निर्माण, माछाको ह्याचरी सुदृढिकरण तथा सञ्चालन माछा पोखरी सिँचाई तथा मर्मत सम्भार, मत्स्य पोखरी क्षेत्र विस्तार लगायतका कार्यक्रममा प्रस्ताव आह्वान समेत गरेको छ।

यी कार्यक्रम सञ्चालनका लागि ९७ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। परियोजनाका कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिने ढुंगानाले जानकारी दिए।

चितवन माछा उत्पादनमा अग्रणि जिल्ला हो। यहाँ बार्षिक पाँच हजार मेट्रिकटन माछा उत्पादन हुने गर्दछ। जिल्लाभर एक हजार भन्दा बढि हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको पशु सेवा कार्यालयका मत्स्य बिकास अधिकृत भिमदत्त भट्टले जानकारी दिए। जिल्लामा प्रतिहेक्टर २.५ क्निटल माछा उत्पादन हुँदै आएको छ।

प्रकाशित: ६ भाद्र २०८१ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App