२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

डुबेर र माटोको ढिस्कोले पुरिएर पाँचजनाको ज्यान गयो

पौडी खेल्ने क्रममा र माटोको ढिस्कोले पुरिएर कास्की र मुस्ताङमा गरि पाँच जनाको ज्यान गएको छ। कास्कीका विभिन्न ठाउँमा डुबेर शुक्रबार तीनजनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार ज्यान गुमाउनेमा एकजना बालक र दुइजना युवक छन्। त्यस्तै मुस्ताङमा माटोको ढिस्कोले पुरिएर दुइजना कामदारको ज्यान गएको छ।

कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–२६ गुदेतालमा लमजुङ मध्यनेपालको करापुटार घर भई पोखरा–२६ प्रगतिटोल बस्ने वर्ष ३४ को बिकास परियारको छोरा वर्ष ६ को सचिन परियारको डुबेर ज्यान गएको हो। बुवासँगै माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबिरहेको अवस्थामा निजको बुवा र स्थानीयले देखी तत्काल उद्धार गरी उपचारका लागि लेखनाथ सिटी अस्पतालमा ल्याएकोमा शुक्रबार दिउँसो चारबजे ज्यान गएको प्रहरीले बताएको छ।

त्यस्तै पोखरा महानगरपालिका–२३ घाँटीछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुईजना युवकको ज्यान गएको प्रहरीले बताएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने वर्ष १८ को प्रकृत बुद्धाचार्य र पोखरा–२ बाग्लुङ बसपार्क बस्ने वर्ष १८ को स्वयं ताम्राकार रहेका छन। ६ जना साथीहरु मिलेर पौडी खेल्न गएकोमा दुइजना डुबेको प्रहरीको भनाई छ। अरु चारजना भने सकुशल रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले बताएका छन।  

त्यस्तै हिमालपारिको जिल्ला मुस्ताङमा माटोको ढिस्कोमा पुरिएर दुइजनाको मृत्यु भएको छ। मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा  ढिस्कोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो।  

डिएसपी पाण्डेका अनुसार शुक्रबार दिउँसो करिव १ बजे ढुम्बास्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि उनीहरुको मृत्यु भएको हो। सर्लाही लालबन्दी नगरपालिका–१५ घर हुने अन्दाजी २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ घर हुने अन्दाजी २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको डिएसपी पाण्डेले जानकारी दिए।  

नाली खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका उनीहरुको प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेपनि ढिस्कोबाट बाहिर निकाल्दा ज्यान गईसकेको उनले बताए। डोजर प्रयोग गरेर घटनास्थलबाट पुरिएका उनीहरुको शव बाहिर निकालिएको थियो।  

प्रकाशित: ४ श्रावण २०८१ १८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App