२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध गाँजासहित विराटनगरबाट ३ जना पक्राउ

मोरङको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै २ स्थानबाट लागुऔषध गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। नेपाल–भारतसँग सीमा जोडिएको विराटनगर–१५ स्थित सुडी बस्तीबाट लागुऔषध गाँजा बिक्रीवितरण गर्न तयारी गर्दै गर्दा २ जना पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ।

दुवै जना गाँजा खरिद र बिक्री गर्ने पक्राउ परेका हुन्। पक्राउ पर्नेमा विराटनगर–१५ सुडी बस्तीका ६८ वर्षीय रघुनाथ साह र विराटनगर–१३ का १९ वर्षीय आनन्द कोइरी छन्। साहको घरबाटै गाँजा बिक्री गर्ने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले गाँजा बेच्ने र खरिद गर्न पुगेका दुवै जनालाई पक्राउ गरेको मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

उनका अनुसार साहलाई आफ्नै घरबाट गाँजा बिक्री गर्दैगर्दा र कोइरीलाई साहको घरमा पुगेर गाँजा खरिद गरेको अवस्थामा पक्राउ परेका हुन्।  

साहले लामो समयदेखि पहाडी जिल्लाबाट ल्याएर घरमा राख्दै बिक्री गरी अवैध धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले साहको घरमा छापा हान्दा गाँजा खरिदबिक्री चलिरहेको थियो।  

कागजमा पोका–पोका बनाएर राखेको ५ सय ग्राम गाँजा साहको घरबाट बरामद भएको बताउँदै, प्रहरी निरीक्षक ओलीले भने, ‘बिक्री गर्न सहज हुने गरी कागजमा ‘प्याक’ गरेर राखिएको १ सय १७ पोका गाँजा बरामद गरेका हौँ। साहले १ पोका गाँजालाई १ सय रूपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ। गाँजा खरिद गर्न साहको घरमा गएका कोइरीलाई १० हजार ७ सय रूपैयाँ नगदसहित पक्राउ गरेका छौ।’

गाँजा र नगदसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ।  

त्यसैगरी, विराटनगरमा मापसे (मादक पदार्थ सेवन) चेकिङ छलेर फुत्किएका मोटरसाइकल चालकको साथबाट लागुऔषध गाँजा १९ केजी बरामद भएको छ। 

विराटनगर महानगरपालिका–९ शनि मन्दिरमा बिहीबार राति सवारीसाधनका चालकको मापसे चेक गरेको ट्राफिकको टोलीले प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकललाई रोक्न खोज्यो नरोकिकन चालक भाग्न खोजेका थिए। भाग्ने क्रममा उक्त मोटरसाइकलले पार्किङ गरेर राखिएको अर्काे को २० प ८६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको थियो ।

लगत्तै प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भाग्न थालेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए। उनका अनुसार पिछा गर्दै गएको ट्राफिक प्रहरीले केही पर पुगेपछि चालक धनकुटाको सहिदभूमि गाउँपालिका–७ का अन्दाजी ३८ वर्षीय जीवन राईलाई नियन्त्रणमा लिएको थियो।

राईले बोकेको झोला खानतलासी गर्दा १९ केजी गाँजा बरामद भएको प्रहरी निरीक्षक न्यौपानेले बताए। पक्राउ परेका राईसहित नियन्त्रणमा लिइएको मोटरसाइकल र गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०८१ ०९:५१ शुक्रबार

#biratnagar #Narcotic-marijuana