२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

खोलामा बाढीको डर, विद्यार्थीलाई मदन सरकै भर !

विद्यार्थीलाई काँधमा बोकेर तथा समूह बनाएर काले खोलामा आएको बाढी तराउँदै स्थानीय शिक्षक मदन बिक। तस्बिरः पुष्पराज जोशी/नागरिक

समैजी आधारभूत विद्यालय चुरे–४, जगातीमा पढ्न आउने विद्यार्थीहरूको लागि शिक्षक मदन विकको दिनचर्या अनौठो र प्रेरणादायी छ।

प्रत्येक बिहान र दिउँसो उनले तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई काले खोला तर्दै स्कुल पुर्‍याउने र ल्याउने गर्छन्। खोला तर्ने क्रममा साना विद्यार्थीहरूलाई काँधमा बोकेर र हात समातेर तर्ने विकको यो दैनिकी वर्षौं देखिको हो।

काले खोला तर्दा विद्यार्थीहरू निथ्रुक्क भिज्छन्, त्यसै भिजेको लुगामा उनीहरूले अध्ययन गर्छन्। शिक्षक विक पनि भिजेका कपडामा नै पढाउँछन्। ‘काले खोलामा पुल नहुँदा यो बाध्यता बनेको छ,’ उनी भन्छन्, ‘वर्षौंदेखि पुलको माग गर्दा पनि सुनुवाइ भएको छैन।’

वर्षातको समयमा खोला बढ्दा कतिपय विद्यार्थीहरू स्कुल नै नजाने गरेको पनि उनले सुनाए।

विहान अभिभावकहरूले नानी बाबुलाई खोला तारेर स्कुल पुर्‍याए पनि, छुट्टी हुँदा उनीहरू काममा गइसकेका हुन्छन्। विकले नै विद्यार्थीहरूलाई स्कुलबाट गाउँसम्म सुरक्षित पुर्‍याउनु पर्छ।

उनी भन्छन् ‘बिहान अभिभावकहरू सहयोग गर्छन्, तर पढाइ सकिएपछि मैले नै खोला तार्नुपर्ने हुन्छ। अभिभावकहरु पनि मेरै भरमा बसेका हुन्छन्।’ साना विद्यार्थीहरूलाई काँधमा बोकेर र ठूलालाई हात समातेर खोला तर्नु पर्ने बाध्यता रहेको उनले सुनाए।

कक्षा ६ मा अध्ययनरत १२ वर्षिया करिस्मा बिक भन्छिन्, ‘वर्षातमा खोलामा कम्मरभन्दा माथि सधैँ पानी हुन्छ, हरेक दिन भिजेको पोशाकमा विद्यालयमा पढ्नुपर्छ।’

भिजेको लुगामा दिनभरि बस्नुपर्दा विद्यार्थीहरूलाई छाला चिलाउने रोग देखिएको विद्यालयका अर्का शिक्षक योगेन्द्र देउवाले बताए। ‘दिनभरि भिजेको लुगामा विद्यार्थी बस्नुपर्दा उनीहरूको ध्यान पढाइमा कम र शरीर चिलाउनमा बढी हुन्छ,’ उनले भने।

खोलामा पुल नहुँदा त्रैमासिक परीक्षामा पनि विद्यार्थीहरू अनुपस्थित भएका छन्। ‘काले खोलामा बाढी आएका दिन त्रैमासिक परीक्षामा पनि विद्यार्थीहरू गयल भए,’ देउवाले भने, ‘गयल भएका विद्यार्थीलाई अर्को प्रश्नपत्र बनाएर परीक्षा लिनुपरेको छ।’

विद्यालय जाँदा र आउने क्रममा खोला तर्न सक्ने अवस्था नहुँदा बालबालिकाहरूलाई अभिभावक तथा शिक्षककै भरमा विद्यालय आउनुपर्ने बाध्यता छ। विद्यालय विदा हुने वित्तिकै छोराछोरी काले खोला नतरुन्जेलसम्म चिन्ता लागिरहने गरेको अभिभावक सन्तोषी बिकले बताइन्।

‘बिहान खोला तारिदिए पनि, छुट्टी हुँदा काममा गएका बेला छोराछोरी एक्लै खोला तर्न खोज्छन् कि भन्ने चिन्ता लागिरहन्छ,’ उनले भनिन्।

गाउँलेहरू वर्षौंदेखि खोलामा पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालयमा धाउँदैछन् तर सुनवाइ भएकाे छैन्। ‘विद्यार्थीहरू डुब्ने र बग्ने चिन्ता हामीलाई सधैं लागिरहन्छ,’ स्थानीय हेमबहादुर बिष्टले भने, ‘काले खोलामा झोलुंगे पुल बनाइदिन माग गरेका छौं, तर सुनुवाइ भएको छैन।’

विद्यार्थीहरू पुल नहुँदा नियमित विद्यालय जान नसकेको उनको गुनासो छ।

प्रकाशित: २९ असार २०८१ २०:१९ शनिबार