५ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

गैँडाकोटमा दुई शव भेटिए, सिमलताल घटनाकै रहेकाे आशङ्का

नवलपरासी पूर्वको गैँडाकोटमा दुई जनाको शव भेटिएको छ। नारायणी नदी किनारमा ती शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन्।

नदीले बगाएर ल्याएकाे अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले जानकारी दिए।

पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८-२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। 

फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएकाे छ। यद्यपि प्रहरीले पुष्टि गरेको छैन। सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए।

बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ। यसअघि एक जना भारतीय नागरिकको शव फेला परेकाे थियाे। उक्त शव साेही घटनामा परेका बसमा सवार यात्रीकाे रहेको पुष्टि भइसकेकाे छ।

प्रकाशित: २९ असार २०८१ १६:१७ शनिबार