२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

त्रिशूलीमा बस खस्दा शोकमा डुब्यो रौतहट

असार २८ को बिहानीले रौतहटमा एक दुःखद खबर लिएर आयो। त्रिशूली नदीमा रौतहटको बस खसेर बेपत्ता भएको समाचारले जिल्लामा शोकको लहर फैलियो।

शुक्रबार बिहान करिब ३ बजे, वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसलाई लेदो सहितको पहिरोले त्रिशूली नदीमा बगायो, जसले रौतहटमा दिनभर शोकमग्न वातावरण बनायो।

पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस शुक्रबार साँझसम्म फेला परेका छैनन्। यता रौतहटको आँखाबाट आँसु रोकिएको छैन।

शोकमग्न मटिअर्वा गाउँ

रौतहटको बौधीमाई नगरपालिका वडा नं-३ मटिअर्वा गाउँका परशुराम साह बनियाका छोरा कृष्णनन्दन नेपाली सेनामा भर्ना हुन सफल भएका थिए। छोरा पासआउट भएको खुसीयाली साट्न उनी परिवारसहित काठमाडौं गएका थिए।

उनकी श्रीमती ५५ वर्षीय मिना देवी साह, माइलो छोरा २५ वर्षीय सरोज साह, भारत विहार पूर्वी चम्पारण, वितछवा गाउँ घर भएका छोरी/ज्वाइँ २८ वर्षीय नरेश साह बनिया र २४ वर्षीय छोरी रिंकु देवी साह असार २५ गते मंगलबार गणपति डिलक्सबाट काठमाडौं पुगे।

छोरा कृष्णन्दनसँग खुसीयाली साटासाट गरी बधाई दिई पुनः गणपति डिलक्सबाटै घर फर्कने क्रममा शुक्रबार बिहान चितवनको सिमलतालमा आइपुग्दा बस त्रिशूली नदीमा खस्यो। सो बसमा रहेका तीन यात्रु मात्र हामफालेर बच्न सफल भए। सोही क्रममा परशुरामको माइलो छोरा सरोज पनि जोगिए। बाँकीको अवस्था अझै अज्ञात छ।

परशुरामका जेठा छोरा सुकनकुमार साह बनियाले बुवासँग राति १२ बजे अन्तिम पटक कुरा भएको सुनाए। “भोली बिहानै घरमा आइपुग्छु, भतिजीको बिहेमा जसरी भएपनि सहभागी हुन्छु” भनेका बुवा त्रिशूलीमा हराए। गाउँभरि शोक छाएको छ, कसैको घरमा चुल्हो बलेको छैन। भारतमा रहेकी छोरी संजिता लगायतका आफन्तहरू गाउँमा भेला भएका छन्, सबैको आँखाबाट आँसु झरिरहेको छ।

उनको घर वरिपरि सिङ्गो गाउँहरूले उपस्थित भई दुखको समयमा सबै साथ दिइरहेका छन्। परशुराम चढेको बस त्रिशूलीमा खसेको खबर सुनेपछि भारतमा रहेका छोरी संजिता सहितका आफन्तहरुको उनको घरमा ताँती लागेको छ।

उनीहरुको आँखा रसाएका छन्, आमा बाबा, बहिनी ज्वाइँ भनेर कराउँदै गरेको अवस्थाको वर्णन गरी साध्य छैनन्, त्यहाँ आफन्तको चित्कारले जो कोहीको मनलाई भाव विह्वल बनाइरहेको छ।

स्थानीय विक्रम गुप्ताका अनुसार नेपाली सेनामा छोरा जागिरे हुने भनेर पासआउट कार्यक्रममा बुवा आमा, बहिनी ज्वाइँ र दाइ गएका मध्ये दाइ हामफालेर जोगिन सफल भएपनि चार जनाको अवस्था अज्ञात रहँदा मटिअर्वा गाउँ पूर्ण रुपमा शोकमग्न अवस्थामा छ।

उनले भने "परशुरामको भाइ सुरेन्द्र साह बनियाको छोरी प्रियंकाकुमारीको आज बिहेवारि थियो तर यस घटनाबाट बिहेवारि नै रोकिनुपर्ने अवस्था सृजना भएको छ।" अर्कै गाउँ इनरवारीमा लगेर बिहेको विधि पुरा गरिने उनले बताए।

सिसवा गाउँभरि चित्कार  

गरुडा नगरपालिका-९ सिसवा टोलका जुगेश्वर राय यादवका ७ वर्षीय छोरा अशोक यादव, २७ वर्षीय छोरी अमृता यादव र दुई नातिनातिनीसहित काठमाडौं उपचार गर्न गएका थिए।

घर फर्कने क्रममा उनीहरूको बस दुर्घटनामा परेर त्रिशूलीमा खस्यो। जुगेश्वर हामफालेर बच्न सफल भए पनि छोराछोरी र नातिनातिनिको अवस्था अझै अज्ञात छ। यता घरमा श्रीमती उमादेवी यादव अचेत अवस्थामा छिन् भने १८ वर्षीय जेठा छोरा सन्तोष यादव छिनछिनमा मुर्छा परिरहेका छन्।

७ वर्षीय अशोकको पेट दुखेपछि उपचार गराउन र छोरीको ढाडमा रहेको समस्यालाई परीक्षण गराएर फर्किँदै गर्दा कालरुपी पहिरोले त्रिशूलीमा पुर्‍यायाे। अहिलेसम्म उनीहरूको अवस्थाबारे केही अत्तोपत्तो नहुँदा उमादेवी छिनछिनमा अचेत भइरहेकी छिन्।

शोकमग्न भएका सिसवाको उक्त परिवारलाई दु:खको घडीमा धैर्य धारण गर्न गरुडाका मेयर कन्थमुणी प्रसाद जयसवाल उनको घरमै पुगेर धैर्यता राख्न आग्रह गरे। सिसवा गाउँमा पनि आज चुल्हो बलेको छैन।

आज रौतहट जिल्लालाई ठूलो अपूर्णीय क्षति भएको छ। जताततै उक्त घटनालाई स्मरण गर्दै छिटो भन्दा छिटो उद्धारको कार्य गरेर बेपत्ताहरूको अवस्था पत्ता लगाउन सरकारसँग माग गरेका छन्। सिङ्गो रौतहट शोकमा डुबेको छ।

प्रकाशित: २८ असार २०८१ १९:२८ शुक्रबार