२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी हिरासतबाट जुवाडे छुटाइदिन्छु भन्दै ४५ लाख ठगी

जुवा तथा सट्टाबाजी कसुरमा पक्राउ परेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन्। 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४५ वर्षीय मुन्ना सिंह भनिने सुजितकुमार सिंहलाई पक्राउ गरेको हो।

सर्लाहीको मलंगवा नगरपालिका–४ स्थायी घर भएका उनी हाल ललितपुरको धापाखेल बस्दै आएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार गएको चैत २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसुरमा सञ्जयकुमार साह पक्राउ परेका थिए।

अहिले पक्राउ परेका सिंहले आफ्नो उच्च पदस्थ व्यक्ति, सरकारी वकिल, न्यायाधीश, प्रहरीसँग नजिकको चिनजान रहेको भन्दै सेटिङ मिलाएर उतिबेला पक्राउ परेका साहलाई छुटाउन सक्ने भन्दै परिवारसँग ४५ लाख लिएको आरोप रहेको एसपी रेग्मीले बताए।

यस क्रममा सिंहले साहका परिवारसँग नगद २० लाख र चेकमार्फत २५ लाख बुझेर ठगी गरेको आरोप छ।

प्रहरीकहाँ उक्त कुराको जाहेरी आएपछि शनिबार उनी धापाखेलबाट पक्राउ परेको एसपी रेग्मीले बताए। पक्राउ पछि उनलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ।

प्रकाशित: २७ जेष्ठ २०८१ १८:२५ आइतबार

#Nepal Police