२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

परम्परादेखि बदलिँदो पोसाक सिलाइका साक्षी डम्बर

<br>

जुम्लाको सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरको आडमै मेसिन खटखट पार्दै कपडा सिलाइरहेका हुन्छन्– ५७ वर्षीय डम्बर दमाई। उनी साँझदेखि बिहानसम्म बाह्रै महिना त्यहीं देखिन्छन्।

कल र कैंचीको आवाज उस्तै छ, बदलिएको छ समय र सिलाउने लुगाका डिजाइन। २०३८ सालदेखि कपडा सिलाइरहेका डम्बरसँग जुम्लावासीको बदलिँदो पोसाकको चित्र मात्रै छैन, सिंगो समयको साक्षी बस्दाका कथा पनि छन्।

डम्बरले कपडा मेसिन नभएको समयमा घर–घर डुलेर हातैले खुटे, काँधमा हाते मेसिन बोकेर गाउँगाउँ चहारे भने आज बजार पुगेका छन्। बालमन्दिरको आडमा रहेका उनी भन्छन्, ‘यहाँ सिलाइकटाइ मेसिन राखेर बसेको सात वर्ष मात्रै भयो। घर–घर गाउँमा पुगेर कपडा सिलाइदिने र ज्यालामा मौसमअनुसार उब्जिने मकै, गहुँ, धान, फापर, कोदो, सिमी, आलु,  जाैलगायत अन्न बुझें र खलो प्रथा धानेर दशकौं गुजारें।’

डम्बरका अनुसार त्यतिबेला खलो प्रथाको नियमअनुसार, बालीनाली पाकेपछि १ देखि ५ पाथीसम्म गहुँ, जौ, धान पाक्दा ५ देखि १० पाथी र मकै पाक्दा १० पाथी, फापर, सिमी, आलु ७–८ पाथीसमेत ज्याला पाउँथे। यही कमाइका भरमा उनले १२ जनाको परिवार पाले। कपडा सिलाएको ज्यालाका रुपमा पैसा हातमा लिन त उमेरको करिब ३५ वर्षसम्म कुर्नुपर्‍यो।

२०४५ सालमा उनी घर छाडेर तत्कालीन शनिगाउँ गाविसको जोडु र भाडगाउँ जान्थे। उनले त्यहाँ ०६६ सम्म कमाइ गरे। उनको स्थायी घर तत्कालीन तलिउम गाविसको तलिउम हो। हाल चन्दननाथ नगरपालिका ८ मा पर्दछ। घर छाडेर टाढा गएपछि मात्रै उनले कामको ज्याला राम्रो बुझ्न थालेका हुन्।

घाम नझुल्किँदै लुगा सिउने मेसिन बोकेर अरुका घर पुग्छन् र आँखाले देखुञ्जेल साँझसम्म कल घुमाइरहन्छन्। विश्वासको धागो समातेर आफूकहाँ आएका सेवाग्राहीको कपडा सिलाएर समयमै भ्याउने चटारोले सताइराख्छ उनलाई सधैं। उनी भन्छन्, ‘गाउँमा कपडा सिलाउने परम्परागत पेसा अँगाल्ने दर्जनौं थिए, थलिइसके, तर मैले आजसम्म धानिरहेकै छु। शरीरले साथ दिइरहेसम्म त हो नि।’

पहिले लगाउने कपडा र आज लगाउने कपडामा आकाशजमिन परिवर्तन आएको डम्बरले बताए। उनले भने, ‘मैले कपडा सिलाउन सुरु गर्दा गाउँका सबैजसो पुरुष भित्र भोटो, दौरा–सुरुवाल र बाहिरपट्टि स्टकोट लगाउँथे। कम्मरमा कन्दनी लगाउँथे। महिला चौबन्दी चोली र गुन्यु लगाउँथे।’

उतिबेला सिलाउने कपडा चौबन्दी चोलीदेखि स्टकोट, भोटो र सुरुवाल मात्रै हुने तर हिजोआज पाइन्ट–कमिजदेखि ब्लाउज–कुर्तासम्म सिलाउँदै आएको डम्बरले बताए। उनी भन्छन्, ‘एउटै कपडा लगाएर मान्छे वर्ष दिन गुजार्थे, तर अहिले त्यस्तो कहाँ हुनु !’

डम्बरले दस वर्षको उमेरमै कपडा सिलाउन थालिसकेका थिए। उनी बासँगै कपडा सिलाउन घरघरै जान्थे। बाउको पछि लाग्दालाग्दै उनले कपडाको नापजाँच सिके, कैंची चलाउन सिके। ज्यानअनुसार कपडा सिलाउन सिके। बाउका पालामा मेसिनले कपडा सिलाउने चलन कहाँ थियो र ! हातैले सियो खिपेर कपडा सिलाउने सीप पनि उनले बाउबाटै सिके। उनी भन्छन्, ‘२० वर्षको उमेरमा उतिबेला दुई घन्टा हिँडेर सियो, धागो र कपडा किन्न जुम्ला बजार पुगें। २ सय ५० रुपैयाँमा हाते कल किनें। मेसिनले एकैछिनमा सिलाउने भइहाल्यो नि।’

हाते मेसिन किनेर ल्याएपछि काँधैमा बोकेर घरघर जान थालेको र २०७० सालपछि खुट्टाले खटखट गर्दै चलाउन सकिने नयाँ मेसिन किनेको उनले बताए। उनी भन्छन्, ‘हाते मेसिनभन्दा खुट्टाले चलाउने मेसिनमा धेरै काम हुँदो रहेछ। २०५२ सालतिर एउटा चौबन्दी चोली सिलाएको ५० पैसा ज्याला थाप्थें। एकै दिन चारवटासम्म चोली सिलाएँ।’

कुनै समय पहिलोपटक दुई रुपैयाँ ज्याला पाउँदा धेरै खुसी लागेको बताउने डम्बर हिजोआज मासिक १५ हजारभन्दा बढी कमाउँछन्। उतिबेला उनी एक्लैले धेरै घरका कपडा सिलाएका थिए। उनी भन्छन्, ‘सक्नेले पनि वर्षको १ वा २ पटक मात्रै कपडा सिलाएर लगाउँथे। त्यसो हुनाले सबैका घर पुग्न भ्याइन्थ्यो।’

पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्मका मान्छेका ठूला मान्छेका लुगा सिलाएको अनुभव आफूसँग रहेको डम्बरले सुनाए। उनी भन्छन्, अधिकांशतः दौरा–सुरुवाल सिलाउन मकहाँ आउँथे।’

सिंगो जीवन कपडा सिलाएर बताउने डम्बरले लुगाएर आफू कहिल्यै नथाकेको बताए। उनी भन्छन्, ‘आफूले जानेको पेसामा काम गर्दा बेकार गरिएछ भन्ने कहिल्यै भएन, बरु यही पेसा सजिलो लागेको छ।’ बाँकी जीवन यही पेसा गरेर बिताउने आफ्नो सोचाइ रहेको डम्बरले बताए।

प्रकाशित: २४ जेष्ठ २०८१ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App