२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखराका ६ सहकारी पीडितको संयुक्त प्रदर्शन

पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरूको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

पोखरामा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर सहकारी, बलिदानी सहकारी, मित्रमिलन बचत तथा ऋण सहकारी र विन्दवासिनी सहकारीका पीडित बचतकर्ताले सोमबार पोखरामा संयुक्त प्रदर्शन गरेका हुन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला अदालत कास्कीअगाडि प्रदर्शन गर्नुका साथै ज्ञापन पत्र पनि बुझाएका छन्।

पीडितहरूले प्रदर्शनका क्रममा बचतकर्ताको बचत रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाही गर्न पनि माग गरे। प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका उनीहरूले देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्नेलगायतका नारा लगाएका थिए।

प्रदर्शनकारीले ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ लगायतका प्लेकार्डसमेत बोकेका थिए।

पोखराका ६ वटा सहकारीबाट मात्र तीन अर्ब रुपैयाँ अपचलन भएको कास्की प्रहरी बताउँछ। रकम अपचलन गर्नेहरू फरार रहँदा प्रहरी प्रशासनले पक्राउ गर्न उदासीनता देखाएको तथा पक्राउ गरिएकाहरूलाई समेत अदालतले धरौटीमा छाडेको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेका थिए।

आफूहरूले बचत रकम फिर्ता र दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरे पनि माग सम्बोधन नभएपछि बाध्य भएर संयुक्त आन्दोलन सुरु गरिएको कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

फरार सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रशासनले सक्ने भए पनि त्यसप्रति अग्रसरता नदेखाएको उनको आरोप छ।

प्रकाशित: १० वैशाख २०८१ १६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App