२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अब सवारीसाधन चढेरै ओलाङचुङगोलामा नयाँ वर्ष

गोलातर्फ अघि बढेको सडकको स्तरोन्नतिको कार्य हुँदै गरेको देउराली आसपास क्षेत्र।तस्बिर: नागरिक

सवारीधानमार्फत नै पुगेर २०८१ सालको नयाँ वर्ष पूर्वकै सुन्दर पर्यटकीयस्थल ओलाङचुङगोलामा मनाउनेहरूको सोच पूरा हुने भएको छ। सडक ट्र्याक ओपनको कार्य पूरा भई लेलेप–ओलाचुङगोला सडकखन्डको ट्र्याकमा स्तरोन्नतिसहितको कार्यले गोला टेक्न अब एक किलोमिटरभन्दा कम दुरी मात्र बाँकी छ।

‘यो काम आइतबार ओलाङचुङगोलासम्म पुग्ने छ,’ सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले भने। उनका अनुसार बाटो सफा गर्ने, ग्रेडिङ मिलाउने कार्य अहिले देउराली क्षेत्र काटेर गोलातर्फ अघि बढेको छ। गोलाभन्दा चार किलोमिटर तल जोङगिमबाट फुङलिङसम्म अहिले पनि फोरह्विल जिप सञ्चालन भइरहेका उनले जानकारी दिए।

पूर्वीपहाडी जिल्लामा फोरह्विल जिपलाई ट्याक्सी भन्ने गरिएको छ। जोङिगमबाट देउरालीसम्मको बाटो स्तरोन्नति भइसकेकाले अब देउरालीबाट फुङलिङसम्म सवारीसाधन कुद्न सक्ने उनले बताए। देउरालीबाट गोलासम्मको बाटो क्लियर हुनबित्तिकै फुङलिङ–गोला सवारीमार्फत नै पुग्न सकिने लामिछानेले जानकारी दिए। ओलाङचुङगोलालाई छोटो रूपले गोला भन्ने गरिन्छ।

एलाइट जेभीले फुङलिङदेखि ३८ किलोमिटर दुरीमा रहेको रानीपुलबाट गोलातर्फको बाटोको ट्र्याक ओपन, बाटो सफा गर्ने र ग्रेडिङ मिलाउने कार्य गरिरहेको छ। लामिछानेका अनुसार रानीपुलबाट गोलासम्मको दुरी ३४ किलोमिटर हो।

सुरुमासुकेटारबाट फुरुम्बुको गढीडाँडा हुँदै ओलाङचुगोला जोड्नेगरी सडकको ट्र्याक ओपन गर्न थालिएको थियो। अहिले यो योजना तमोर करिडोरसँगै गाभिएको छ। योसँगै अहिले सुकेटारतर्फको सडकखन्ड भने वैकल्पिक भएको छ।

सदरमुकाम फुङलिङबाट मित्लुङ, सिंवा हुँदै तमोर नदीको किनार भएर सडकको ट्र्याक ओपन भएपछि फुङलिङ–गोलाको दुरी पनि छोटिएको छ। ‘नयाँ वर्ष नयाँ गन्तव्यमा मनाउन सक्नेगरी सडकको कार्य तीव्र रूपले अघि बढाएका हौं, पूर्ण रूपले सफल हुने स्थिति देखियो,’ लामिछानेले भने।

निर्माण कम्पनीका प्रबन्धक पेम्बा शेर्पाले फुङलिङ–ओलाङचुङगोला सडकखन्डको ट्र्याक खुलेपछि नै यो सडकसखन्डमा स्तरोन्तिका काम पूरा गरी नयाँ साल ओलाङचुङगोलामा मनाउने घोषणा गरेका थिए।

नेपाल-चीन र भारत जोड्ने सबैभन्दा छोटो नाका मानिएको उत्तर दक्षिण सडकअन्र्तगत पर्ने फुङलिङ-ओलाङचुङगोला सडकन्डको गत फागुन पहिलो साता ट्र्याक ओपनमा ‘ब्रेक थ्रु’ भएसँगै चीनसँग जोडिएको थियो। ‘नयाँ वर्ष, सवारीमै ओलाङचुङगोलामा पुगेर मनाउन सकिने भयो,’ फुङलिङ-ओलाङचुङगोला सडकखन्डको ट्र्याक ओपनमा ‘ब्रेक थ्रु’पछि थप उत्साहित भएर काम गरेको शेर्पाले बताए।

सडक निर्माण कार्य पूरा नभएको अवस्थामा हिउँद याममा इलाडाँडासम्म सवारीमा र वर्षायाममा सोभन्दा केही वरसम्म्को क्षेत्रमा मात्र सवारीसाधन पुग्ने गर्थे। ‘नयाँ सालमा गोलामै गाडीमा सरर पुगिने भयो,’ निर्माण कम्पनीका प्रबन्धक शेर्पाले खुसी साटे। मौलिक संस्कृति र पहिचानमा रमेको ओलाङचुङगोला झुरुप्प वस्ती रहेको पर्यटकीयस्थल हो।

धेरैले यसलाई स्वर्गको टुक्रासमेत भन्ने गर्छन्। समुद्री सतहबाट करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको त्यहाँ अहिले त्यहाँ ५६ घर छन्। करिब साढे चार सय वर्ष पुरानो मानिएको दिकीछ्योलिङ गुम्बा ओलाङचुङगोलाको अर्को सान हो।

नयाँ वर्षअघि नै सडक ओलाङचुङगोला पुग्ने भएपछि स्थानीय भने पर्यटकलाई स्वागत गर्न आतुर देखिएका छन्। ‘हामी आगन्तुकलाई स्वागत गर्न पाउँदाको स्वर्गीय अनुभूतिको कल्पना गरेर बसेका छौं,’ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाले भने।

गोलासम्म गाडी नपुग्दा गोला हिँडेका यात्रीलाई पैदलयात्राको क्रममा कठिनाइ भए बोकेरसम्म लैजाने, पानी, चिया र बिस्कुट लिएर अप्ठ्यारो महसुस भएको ठाउँसम्म पुगेर यात्रीलाई सहयाग गर्ने वडाध्यक्ष शेर्पा नयाँ वर्षमा पर्यटकहरू गोला आउने हर्षले गाउँ पूरै उमंगित भएको बताउँछन्।

गोलाबाट करिब २४ किलोमिटर दुरीमा टिपताला भञ्ज्याङ पर्छ। टिपताला नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नाका हो। यहाँसम्म यसअघि नै सडक निर्माण भईसकेपनि ठाउँठाउँमा स्तरोन्नतिका कार्य भने गर्नैपर्ने अवस्था रहेको छ। 

प्रकाशित: २५ चैत्र २०८० ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App