२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर नष्ट

जङ्गलमा लागेको डढेलोको लप्का सल्केर गाउँ पस्दा खोटाङमा एक स्थानीयको घर गोठ जलेर नष्ट भएको छ। 

जिल्लाको खोटेहाङ गाउँपालिका ९, देउरालीस्थित कटहरे पाखाको जङ्गलमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सोही ठाउँका बन्दिरबहादुर राईको घरगोठ जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आगोले राईको टालीले छाएको काठको २ तले घर र काठले बनेको एकतले गोठ जलेर नष्ट भएको छ। डढेलो गाउँ पसेर आगलागी भएको खबर सोमबार दिउसो २ः०० बजे प्राप्त भएलगत्तै खोटेहाङकै प्रहरी चौकी चिसापानीको टोली पुगेर आगो निभाउन मद्दत गरिरहेको छ। तर, टोली पुग्दासम्म घरगोठ जलेर नष्ट भईसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए।

प्रहरी सहायक निरीक्षकको कमाण्डमा गएको टोलीले दुई दर्जन स्थानीय गाउँलेको सहयोगमा आगो निभाएकाले अन्य घरहरू भने जोखिममुक्त भएको डिएसपी खड्काले बताए। आगोले मानवीय क्षति नभए पनि जङ्गल भने डढेलोले सखाप बनाएको छ। आगोले के कति क्षति भयो भन्ने यकिन विवरण भने आउन बाँकी रहेको छ। प्रहरी टोली घटनास्थलमै रहेको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको डिएसपी खड्काले बताएका छन्।

त्यसैगरी खोटाङकै हलेसी तुवाचुङ नगरपालिकाको जङ्गलमा पनि आइतबार रातिदेखि नै आगलागी भइरहेको प्रहरीले जनाएको छ। हलेसी  तुवाचुङ ८ को हात्ती आहालस्थित तारेभिर सामुदायिक वनको जङ्गल क्षेत्रमा आगलागी भइरहेको खबर आए लगत्तै सोमबार बिहान पौने ११ः०० बजे नै प्रहरी पठाएर निभाउन लगाइएको छ। प्रहरी सहायक निरीक्षक मोति कार्कीको कमाण्डमा पठाइएको टोलीले स्थानीयहरूको सहयोगमा डढेलो निभाउने काम भइरहेको डिएसपी खड्काले बताए।

डढेलोले जङ्गलको ठूलो क्षेत्र जलेर रुख बिरुवा नष्ट गरे पनि सो ठाउँमा घरगोठ र मानवीय क्षति भने हालसम्म नभएको उनले बताएका छन्। खोटाङका विभिन्न ठाउँमा फागुन दोस्रो सातादेखि नै सुरु भएको डढेलोले जताततै क्षति भइरहेको खबर आएको र नियन्त्रण, प्रतिकार्य तथा बचाउका लागि पूर्व तयारीको काम भइरहेको प्रहरीले जनाएको छ।

हलेसी तुवाचुङ, खोटहाङजस्तै जिल्लाका साकेला, दिप्रुङचुईचुम्मा र अन्य स्थानीयतहहरुमा जङ्गलमा डढेलो लागेको र कतिपय ठाउँमा निभाउन नसकेर गाउँ पस्ने खतरा रहेको खबर प्रहरीमा प्राप्त भएको खड्काले बताए। सुख्खायाम सुरु भएसँगै फैलिन थालेको डढेलोले वनक्षेत्र नष्ट गर्नुका साथै बस्ती जलाउने जोखिम अत्याधिक रहेको छ। केही दिनअघि लगातार ३–४ दिन वर्षा भएर आफै नियन्त्रणमा आएको डढेलो पानी पर्न छाडेको २–३ दिनपछि फेरि उसैगरी फैलिन थालेकाले उद्धार कार्य टोली तैनाथ राखेर प्रतिकार्य भइरहेको डिएसपी खड्काले बताएका छन्। 

प्रकाशित: १९ चैत्र २०८० १९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App