२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौता माईका एकै महिलामा अनेक रोग

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्न आएका स्थानीय। तस्बिर: महेश्वर/नागरिक

जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौतामाई गाउँपालिका–६ रौता पोखरीमा आयोजित एकीकृत स्वास्थ्य शिविरमा साढे चार सय स्थानीय लाभान्वित भएका छन्।

वडा कार्यालयको समन्वय, गाउँपालिका र हुरेन्डेकको आयोजना र वल्र्ड नेवर्सको सहयोगमा विविध रोगको उपचार गराउने उद्देश्यले एकीकृत शिविर सञ्चालन गरिएको हो।

शिविरमा विभिन्न उमेर समूह र रोगको ४३३ जनाले स्वास्थ्य परीक्षण गराएको गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए। उनका अनुसार स्त्रीरोग, दन्तरोग, आँखा, कान र जनरलतर्फ सबै खाले रोगको परीक्षण र प्रारम्भिक उपचार निःशुल्क उपलब्ध गराइएको थियो। ग्रामीण र विकट क्षेत्रका सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन रौतामा शिविर चलाएको अध्यक्ष मगरले बताए।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, वृद्धवृद्धा तथा सबै उमेर समूहका स्थानीयको सहभागिता रहेको शिविरमा एकैजना महिलामा ३÷४ प्रकृतिका रोग भेटिएको उदयपुर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. मुकेश झाले बताए।

डा. झाका अनुसार महिलामा अधिकतरको बच्चादानी (पाठेघर) दुख्ने÷खस्ने, महिनावारी गडबढी, सेतोपानी बग्ने, घाउ हुने तथा बाँझोपनको समस्या पाइएको छ। एकैजना महिलामा धेरै प्रकृतिका यौनरोगको समस्या देखिएको पनि डा. झाले बताए।

डा. झाका अनुसार ३८ महिलामा बच्चादानी समस्या देखिएको छ। उनीहरूमध्ये सात जनामा बच्चादानीको मुखमा सम्भावित क्यान्सर ‘भिआइए पोजेटिभ’ देखिएको छ। जसमध्ये पनि तीन जनाको बच्चादानी तत्काल अप्रसेन गर्नुपर्ने देखिएको छ। स्वास्थ्य परीक्षण गरिएकामध्ये आधा दर्जन महिलाको बच्चादानीमा शिविरस्थलमै बचाउको पहिलो उपचारबापत ‘रिङप्रेसरी’ लगाइएको छ।

डा. झाका अनुसार नियमित स्वास्थ्य जाँच नगर्नु, पोषणयुक्त खानेकुराको कमी र आवश्यकता अनुसार स्याहारसुसार नपुग्दा महिलाको बच्चादानीमा समस्या आउने गर्छ।

बच्चादानीमा देखिने सानातिना समस्यामै उपचार गराइहाल्नु पर्ने भन्दै उनले उपचारमा ढिला भए बच्चादानी खस्ने र क्यान्सर जस्तो खतरनाक रोगसमेत लाग्ने बताए।

‘कतिपयको पहिलो सन्तान भए पनि दोस्रो सन्तान नरहने समस्या देखिएको छ,’ डा. झाले भने, ‘त्यस्ताको बच्चादानी सफा गरेर पठाइएको छ भने मुखमा मासु पलाएका केही महिलालाई छिट्टै शल्यक्रिया गर्न सुझाएका छौं।’

त्यसका लागि थप परीक्षण गर्नुपर्ने भएकाले जिल्ला अस्पतालमा आउन भनिएको उनले बताए।

स्त्रीरोग विशेषज्ञ झाका अनुसार बच्चादानीको मुखको क्यान्सरबाट अकालमै धेरै महिलाको ज्यान जाने गरेको छ। क्यान्सर लाग्ने जानकारी पाउन ‘स्पेकुलम’ औजारबाट परीक्षण गर्नुपर्ने हुन्छ, यही प्रविधिलाई भिआइए भनिने झाले बताए।

 पाठेघरको क्यान्सर विशेष गरी कलिलो उमेरमा यौन सम्पर्क गर्दा, धेरैजनासँग यौन सम्पर्क गर्दा, रोग प्रतिरोधात्मक क्षमताको कमी हुँदा र धूमपान तथा सूर्तिजन्य पदार्थको सेवनबाट हुने उनले बताए।

शिविरमा ११२ जनाको आँखा परीक्षण पनि गराएको आँखा प्राविधिक भीमराज चामलिङले बताए। जसमा २८ जनामा मोतियाबिन्दुको समस्या देखिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ।

उनीहरूलाई छिट्टै अप्रेसन गर्न सुझाइएको र गाउँपालिकाले निःशुल्क अप्रेसनका लागि व्यवस्था मिलाउन समन्वय गरिने भएको छ। अन्य १७ जना आँखा कमजोर भएका बिरामीलाई पावरवाला चस्मा लगाउन सिफारिस गरिएको पनि चामलिङले बताए।

आयोजक संस्था हुरेन्डेककी कार्यक्रम संयोजक बिनु सुवेदीका अनुसार शिविरमा दाँतको परीक्षण गराउनेको संख्या ४० रहेको छ। उनका अनुसार दाँतको समस्या हुनेहरूको दाँत उखेल्ने, सिमेन्ट भर्ने, सफा गर्नेजस्ता सेवा शिविरमै गरिएको छ।

 शिविरमा दन्तरोग विशेषज्ञ डा. नारायण चौधरीलगायत प्राविधिक टोलीले दाँतको परीक्षण र उपचार गर्दै आवश्यक औषधि वितरण गरेको संयोजक सुवेदीले बताइन्।

शिविरमा २४३ जनाले जनरल फिजिसियन सेवा लिएको उदयपुर अस्पतालका विशेषज्ञ एमडिजिपी डा. रणदीप राउतले बताए।

खासगरी ज्येष्ठ नागरिकमा हाडजोर्नी, ग्यास्टिक, दाद, पेट, टाउको, ढाड दुख्ने, सुगर, प्रेसर, कान तथा अन्य रोग पाइएको छ। डा. राउतका अनुसार उमेर समूहअनुसार बालबालिकामा नाक, घाँटी दुख्ने, घाउ खटिरा र लुतोजस्ता समस्या देखिएको छ।

स्त्रीरोग, दन्त र आँखाबाहेक शिविरमा इसिजी, भिडियो एक्सरे, आइयुसिडी, इम्प्लान्ट, कोलिपलगायत सेवा प्रवाह गरिएको हुरेन्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए।

थापाका अनुसार बच्चादानी खसेका महिलालाई निःशुल्क शल्यक्रिया गर्न वल्र्ड नेवर्सको सहयोगमा हुरेन्डेकद्वारा सञ्चालित ‘नेपाल एकीकृत  ग्रामीण विकास परियोजना’मार्फत सहयोग उपलब्ध गराइनेछ।

प्रकाशित: १६ फाल्गुन २०८० १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App