२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

विवाहेत्तर सम्बन्धका कारण प्रमीलाको हत्या: प्रहरी

काठमाडौंको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारेमा जानकारी गराएको हो। माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर-९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका-७ भई अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिए।

उनले जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर-५ घर भई हाल काठमाडौं महानगरपालिका-९ भीमसेनगोलामा मृतक श्रीमान् नसे दमाईंसँग डेरा गर्दै बस्दै आएको बताए। एसएसपी खत्रीका अनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो। दुवै विवाहित रहेको प्रहरीले बताएको छ।

उनले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।

प्रकाशित: २९ माघ २०८० १६:४६ सोमबार