१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

पहिले झाडीले घेरिएको बाँझो जमिन, अहिले हराभरा कागती बगैँचा

भिरालो पाखो जमिन। चारैतिर झाडीले घेरिएको। जनशक्ति अभावमा बाझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन्। 

पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलो पटक कागती बिक्रीबाट छ लाख कमाइ गर्‍यो।

बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय बिरुवाबाट पहिलो पटक उत्पादित कागती काठमाडौँ र पोखरा निर्यात भइसकेको छ।

श्रीषले कागती खेती गर्ने उद्देश्यले उक्त जग्गा खरिद गरेका थिए। झाडीले घेरिएको त्यही बाँझो जग्गामा अहिले लटरम्म कागती फलेका छन्। गाउँको बाँझो रहेको जमिन खरिद गरेर २०७६ साउनमा कागतीका बिरुवा लगाएका थिए।

‘कागतीको सम्भावना देखेपछि ३६ रोपनी जग्गामा कागती खेती थालेको २०७६ सालमा हो, पाँच वर्ष पूरा हुँदा कागती फल्यो, पहिलो वर्ष नै छ हजार किलो कागती उत्पादन भएको थियो, थोक मूल्य एक सय प्रतिकिलोका दरले कागती बिक्री गरे’, उनी भन्छन्, ‘खाली र झाडी बन्दै गएको जमिनमा कागती खेतीसहित बाख्रा पालनको उद्देश्य थियो, बाख्रा पालन छाडे, अब कागतीबाट राम्रो सम्भावना देखेको छु।’

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिदसँगै हालसम्म ३० लाख लगानी गरिसकेको श्रीष बताउँछन्।

तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिक रूपमा कृषि उद्यम गर्ने सोचमा पुगेपछि श्रीष कृषि तथा पशु फर्म दर्ता गरेर कागती खेतीमा आकर्षित भएका हुन्।

गलकोटसहित छिमेकी बजारको कागती आयात प्रतिस्थापन गर्नका लागि कागती खेतीमा लगाएको उनको भनाइ छ।

बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेका श्रीषको कागती बगैँचा अहिले हराभरा भएको छ। हजुरबुबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको युवा कृषक श्रीष बताउँछन्।

‘युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान छ, कागती खेतीलाई सय रोपनीभन्दा बढी जग्गामा विस्तार गर्ने योजनामा छु’, उनले भने, ‘सरकारी तहले युवा किसानलाई प्रेरित गर्न आवश्यक छ, सामान्य अनुदानका कार्यक्रमले मात्रै ठूलो फार्मलाई राहत हुँदैन।’

नगरपालिकामा व्यावसायिक रूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरपालिकाले कागतीका बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट–११ का वडाध्यक्ष श्रीषको भनाइ छ।

समुद्री सतहबाट एक हजार तीन सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले कागती खेतीमा अनुदान दिँदै आएको पाइएको छ।

गलकोटमा पछिल्लो समय कागती खेती फस्टाउन थालेको छ। गलकोटका एक दर्जनभन्दा बढी किसान अहिले कागती खेतीमा आकर्षित भएका हुन्।

प्रकाशित: २९ माघ २०८० १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App