उदयपुर – उदयपुर सदरमुकामबाट बिहीबार मध्यान्ह लागू औषधसहित ४ युवा पक्राउ परेका छन्। लागू पदार्थ लुपिजेसिक, फेनार्गन र डाईजोल्यापसहित त्रियुगा नगरपालिका १० का २३ वर्षीय भिषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २१ वर्षीय निराजन खत्री र सोही ठाउँका २० वर्षीय किशोर मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरी सहायक निरीक्षक (असई) इन्द्रनारायण श्रेष्ठको गस्ती टोलीले उनीहरुलाई गाईघाट शिवालयटोलस्थित होटल कोहवर छेउबाट पक्राउ गरेको हो। सडकछेउमा असामान्य अवस्थामा भेटिएपछि सोधपुछका क्रममा उनीहरु लागू पदार्थ सेवन गरेको पाइएपछि पक्राउ गरिएको हो। उनीहरुको साथबाट प्रतिबन्धित लुपिजेसिक ५ थान, फेनार्गन ४ थान र डाईजोल्याप ५ थान गरी १२ थान लागू औषध बरामद भएको असई श्रेष्ठले बताए।
पक्राउ परेका युवाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। प्रहरीले केही महिनायता लागू पदार्थ सेवन गरे/नगरेको पत्ता लगाउने यन्त्र ‘किट टेस्टर’को प्रयोग गर्न थालेको छ। लागू पदार्थ सेवनकर्ताको मुखबाट गन्ध नआउने भएकाले खाए पनि नखाएको भन्दै ढाँटेर बँच्ने गरेका कारण यो प्रविधि ल्याएर प्रयोग गर्न थालेको एसपी भट्टले बताएका छन्।
प्रकाशित: १७ फाल्गुन २०७४ ०८:५८ बिहीबार